झापा , भदौ २२ । कोरोना महामारीको बेला झापाका सीमा नाकाबाट पेट्रोलियम पदार्थको नयाँ शैलीबाट तस्करी हुने गरेको पाइएको छ ।
भारतबाट नेपाल आउने मालवाहक सवारी साधनले छुट्टै ट्यांकी जडान गरी नेपालबाट पेट्रोलियम पदार्थ भारत लैजाने गरेको घटना सार्वजनिक भएको हो । काँकडभिट्टा नाकाबाट सोमबार बिहान ९ बजे नेपाली सामान ढुवानीका लागि भारतीय नम्बर प्लेटको डब्लुबी ७३ डी २४४१ नम्बरको खाली मिनी ट्रक नेपाल प्रवेश गरेको थियो । त्यसपछि सो मिनी ट्रक सोझै धुलाबारीतर्फ लाग्यो । सो ट्रकले छुट्टै डिजेलको ट््यांकी जडान गरेको कसैले सुइँको समेत पाएनन् ।धुलाबारीबाट सामान लोड नगरी त्यतिकै फर्किएका सो ट्रकका चालक पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला नक्सलवारीको रथखोला निवासी ३० वर्षीय विकास दास र सह–चालक सोही ठाउँका ३४ वर्षीय सुजल साहाले मेचीनगर– ६ स्थित पूर्वाञ्चल पेट्रोल पम्पबाट ट्रकमा ५५० लिटर डिजेल हाले । ट्रकमा रहेको डिजेल ट्यांकी नहालेर उनीहरूले छुट्टै जडान गरिएको ट्यांकीमा सो डिजेल हालेका थिए ।
डिजेल हालेर पुनः काँकडभिट्टा नाकाबाट भारत जान लागेका ट्रकलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोली सोमबार दिउँसो २ बजे मेची पुल नजिकै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । नियन्त्रणमा लिएर ट्रकलाई चेकजाँच गर्दा ट्रकमा एउटा छुट्टै ट्यांकी जडान गरेको र सो ट्यांकीमा ५५० लिटर डिजेल बरामद गरिएको डिएसपी थापाले बताए ।

ट्रकसहित चालक र सहचालकलाई ७ लाख मूल्याङ्कन तोकेर सोमबार नै मेची भन्सार कार्यालय बुझाइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए । पश्चिम बङ्गालमा डिजेलको मूल्य भारतीय ९१ रुपैयाँ ७१ पैसा अर्थात् नेपाली १४६ रुपैयाँ ७३ पैसा पर्छ । झापामा डिजेलको मूल्य १११ रुपैयाँ ५० पैसा पर्छ । पश्चिम बङ्गालभन्दा झापामा डिजेलको मूल्य ३५ रुपैयाँ ३१ पैसा सस्तो छ । ट्रक चालकले ५५० लिटर डिजेल भारत लगेबापत १९ हजार ३७९ रुपैयाँ कमाउन पाउँथे । यसरी दैनिक भारतबाट नेपाल प्रवेश गर्ने भारतीय मालवाहक गाडीले नेपालबाट पेट्रोलियम पदार्थ बोकेर लगेपनि पक्राउ परेको यो पहिलो पटक भएको बताइएको छ ।





