दमक , भदौ २२ । तीन दिनयता बर्षासंगै कन्काई नदीको भंगालो पसेर बाटो बगाउँदा झापाको गौरीगञ्ज १ साविक महाभाराको होकलबारी बस्तीका सर्वसाधारणको आवतजावत बन्द भएको छ ।


त्यहाँको बाँध भत्काएर टप्पु तर्फबाट कन्काईको पानी भंगालोका रुपमा होकलबारी तर्फ पसेको हो । केही दिनयता बाँधमा भइरहेको कटान रोक्न गरिएको रोकथामको प्रयासका बावजुद गएराति चौरी र होकलबारी बस्तीको बीच भागबाट भंगालो पसेको स्थानीय प्रेम राईले जानकारी दिए । उनका अनुसार टप्पु बस्ती आसपासका केही घर परिवार समेत खोलाको बाढीका कारण विस्थापित हुने क्रममा छन् । ‘राति नै खोला पसे छ अहिले बाटोमा लगाएको कज्वे भत्काइरहेको छ अब यहाँको आवतजावतका लागि डुंगाको बन्दोबस्ती गर्न जुटेका छौं ’ राईले भने । उनका अनुसार कन्काईले धार परिवर्तन गरेर पहिलेकै स्थानमा फर्किदा यसअघि सयौं परिवार विस्थापित भएको सो ठाउँमा हाल रहेका ९० घर परिवार समस्यामा परेका छन् ।

उनीहरुको बाहिरी सम्पर्क विच्छेद हुने खतरा बढेको छ । नदी कटान प्रभावित क्षेत्रमा यसअघि प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा अधिकारीहरु कांग्रेस झापाका नेता देउमान थेवेसहितको टोलीले स्थलगत निरिक्षण गरेको थियो । गौरीगञ्ज १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले कन्काईको कटानले बस्तीमा परेको प्रभावका बारेमा स्थानीय सरकारका अतिरिक्त माथिल्लो निकायको समेत ध्यानाकर्षण गराएको र तत्काल आउन सक्ने जोखिमलाई मध्यनजर गरेर आवश्यक रोकथामका सबै प्रयासहरु शुरु गरिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्