बिर्तामोड , भदौ २२ । नेपाली काँग्रेस बिर्तामोडको नगर सभापति पदका लागि भोजराज सिटौलाले उम्मेद्वारी घोषणा गरेका छन् ।

वर्तमान नगर सभापति सिटौलाले दोस्रो कार्यकालको लागि उम्मेद्वारी घोषणा गरेका हुन् । वडा अधिवेशनबाट निर्वाचित बिर्तामोड ९ का पदाधिकारी , सदस्य र क्षेत्रीय प्रतिनिधिहरुको बधाई तथा शुभकामना कार्यक्रममा सिटौलाले नगर सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्दै भावी दिनमा काँग्रेसलाई बलियो बनाएर स्थानीय सरकारमा जिताउने उद्घोष गरे । उनले आम नागरिकको भलाइको निम्ति आफूले दोस्रो कार्यकालको लागि नगर सभापतिमा उम्मेद्वारी दिन लागेको बताए । पहिलो कार्यकालमा काँग्रेसको नगर कार्यालय भवनका लागि जग्गाको व्यवस्थापन गरिसकेको बताउँदै बिर्तामोड ३ का वडाध्यक्ष समेत रहेका सिटौलाले दोस्रो कार्यकालमा नगर समितिको भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । स्वर्गीय लक्ष्मण खड्काकी श्रीमती अन्जु खड्काले कार्यालय भवनका लागि जग्गा प्रदान गरेकी थिइन् । त्यस अवसरमा नगर सभापतिका उम्मेद्वार सिटौलाले आफू बाँचुन्जेलसम्म पार्टीको लागि पूर्णकालीन कार्यकर्ताको रुपमा खट्ने घोषणासमेत गरे । ‘अहिले पनि म पूर्णकालीन रुपमा जनताका लागि खटिरहेको छु ’ उनले भने ,‘ जिन्दगी रहुँन्जेल आफ्नो सम्पूर्ण समय पार्टीको लागि समर्पित गर्नेछु ।’ त्यस्तै सोही कार्यक्रममा बिर्तामोड ६ का वडाध्यक्ष सूर्य कन्दङवाले उपसभापति पदमा उठ्ने घोषणा गरे ।

कार्यक्रममा पार्टीका पूर्व सहउपसभापति भोला पौडेलले सिटौलालाई नगर सभापतिमा उठाउने र जिताउने प्रस्ताव गरेका थिए । प्रस्तावलाई उपस्थित सबैले समर्थन गरेका छन् । बिर्तामोड ९ मा १८ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् । त्यस्तै वडा अधिवेशनबाट बासु अधिकारी वडा सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । ज्येष्ठ नागरिक ध्रुवलाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा हरि सिटौला , राजकुमार भेट्वाल , भूमि बस्नेत , जयराज ढकाललगायतले बोलेका थिए । कार्यक्रमको संचालन वडा सभापति बासु अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्