बिर्तामोड , भदौ २३ । धार्मिक विद्यालयको रुपमा रहेका मदरसाहरुलाई अब सामुदायिक विद्यालयमा रुपान्तरण गरिनु पर्ने आबश्यकता देखिएको छ ।

पुरातन प्रवृतिलाई तोडेर मदरसाहरुमा नयाँ पाठ्यक्रम र नयाँ प्रविधि आबश्यक देखिएको सरोकारवालाहरुले बताएका छन् । बिर्तामोड ३ स्थित मदरसा तालिमूल कुरानद्वारा बुधबार आयोजित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै सरोकारवालाहरुले मदरसा शिक्षालाई आधुनिकीकरण गर्न जरुरी भएकोमा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व कानून मन्त्री अग्नी खरेलले समाज बदल्नका लागि परम्परागत धर्म संस्कृतिमा उभिएर कतिपय मान्यतालाई परिवर्तन गर्न जरुरी भएको बताए । उनले एसिडपीडित मुस्कान खातुनको आँट र हिम्मतको उदाहरण दिँदै परिवर्तनका लागि एकजना व्यक्ति नै संवाहक बन्न सकिने धारणा राखे । पूर्व शिक्षा मन्त्री समेत रहेका खरेलले शिक्षालाई सबैतिर आधुनिकीकरण गर्न जरुरी भएको बताउँदै मदरसालाई हेर्ने पुरातन दृष्टिकोण बदल्न आबश्यक भएको औंल्याए । आफू २०७० सालमा एमाले अध्यक्ष केपी ओलीसँग आउँदा मदरसा तालिमूल कुरानमा खासै भौतिक पूर्वाधार नरहेको स्मरण गर्दै अहिले पूर्वकै नमूना बन्न लागेकोमा प्रशंसा गरे । हाल सो मदरसामा नर्सरीदेखि कक्षा ५ सम्म पढाइ हुने गरेको छ । कक्षा १२ सम्म पढाउने गरी मदरसाले बिर्तामोड ३ मा ८ कठ्ठा जग्गा खरिद गरेको छ । त्यस जग्गामा यस वर्षदेखि भवन बनाउने योजना रहेको छ । पूर्व मन्त्री खरेलले मदरसाको भवन बनाउने काममा आफ्नो तर्फबाट कुनै न कुनै सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य एकराज कार्कीले नेपालका मदरसाहरुमा उर्दु भाषाको मात्र पढाइ गर्न नहुने सुझाव दिए ।‘सबै जातका शिक्षक र सबै जातका विद्यार्थी पढ्न पाउने वातावरण हुनु प¥यो ’उनले भने ,‘मदरसालाई आधारभूत विद्यालयको रुपमा विकास गरिनु पर्छ । ’ बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले मदरसा तालिमूल कुरानले अंग्रेजी माध्यममा पठनपाठन शुरु गरेकोेमा भविष्य राम्रो भएको बताए ।

बिर्तामोडमा १८ वटा सामुदायिक विद्यालय र २ वटा धार्मिक विद्यालय रहेका छन् । नगरमा ६ वटा मदरसाले अनुमति लिएकोमा धान्न नसकेपछि ५ वटा बन्द भएका छन् । सरकारले सामुदायिक विद्यालयलाई वार्षिक रुपमा २ लाख ४१ हजार रुपैयाँ अनुदान दिने गरेको छ । सोही अनुदान मदरसा तालिमूल कुरानले पनि पाउने गरेको छ । त्यो अनुदान न्यून भएकाले बिर्तामोड नगरपालिकाले बर्षेनि सहयोग गर्दै आएको भण्डारीले बताए । २०६४ असार २६ गते मदरसा तालिमूल कुरान स्थापना भएको थियो । हाल त्यहाँ १४७ जना विद्यार्थी अध्ययनरत रहेका छन् । १३ जना शिक्षक शिक्षिकामध्ये ११ जना गैरमुस्लिम समुदायका छन् ।

हालको मदरसा साँघुरो भएकाले कक्षा १२ सम्म पढाउन ८ कठ्ठा जग्गा किन्नु परेको मदरसाका अध्यक्ष अफरोज खानले बताए । उनले खरिद गरिएको जग्गाको सम्पूर्ण रकम भुक्तानी गरिनसकेको बताउँदै दाताहरुबाट अझ सहयोगको आव्हान गरे । कार्यक्रममा १५ लाख मूल्य पर्ने १२ धुर जग्गा निशुल्क दिने जग्गादाता कैलाश प्रसाई ,१–१ धुर जग्गाको रकम दिने शाहिद हुसैन , मन्जर अली , बिनु अन्सारी , मुन्ना अन्सारीसहित हेदाय तुल्ला , साविर अन्सारी र अमिर खानलाई सम्मान गरिएको थियो । झापा जिल्लामा ५१ वटा मदरसा रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्