बिर्तामोड , भदौ २६ । उमेरले २२ वर्ष पुगेकी अन्जुम खातुन पेशाले शिक्षिका हुन् । मदरसामा पढाउँदा उनी कालो बुर्खामा हुन्छिन् । परम्परागत पहिरनमा सजिएकी अन्जुमको भावना भने परिवर्तनशील छ ।

उनी आफूलाई तब्दिली मोअल्लिमा अर्थात आधुनिक शिक्षिका भन्न रुचाउँछिन् । बिर्तामोड ३ का मोहम्मद तोहिद आलमकी छोरी अन्जुम, देवी क्याम्पसमा बीबीए अन्तिम वर्षमा अध्ययनरत छिन् । अध्ययनसँगै उनी मदरसा तालिमूल कुरानमा पढाउने गर्छिन् । मदरसामा उनले नर्सरीदेखि कक्षा ५ सम्म उर्दुसँगै अरु विषय पनि पढाउँछिन् । मुस्लिम समुदायको पाठशाला मदरसामा बालबालिका दुवैलाई पढ्न पाउने व्यवस्था रहेकोमा शिक्षिकाले भने पढाउन पाउँदैनथे । जसलाई मदरसा तालिमूल कुरानमा हटाइएको छ । शिक्षकले मात्र मदरसामा पढाउन पाउने परम्परालाई आफूहरुले हटाएर शिक्षिकाको समेत व्यवस्था गरेको मदरसाका अध्यक्ष अफरोज खानले बताए । पुरातन सोच र मान्यतालाई बदल्दै मदरसा शिक्षालाई आधुनिकीकरण गरिनुपर्ने माग उठेको छ । केही दिनअघि त्यस मदरसामा आयोजित कार्यक्रममा पूर्वमन्त्री अग्नी खरेलले शिक्षामा पुरातन प्रवृतिलाई छोडेर नवीनतम प्रविधि ल्याउनुपर्ने बताएका थिए । शिक्षालाई आधुनिकीकरण गर्न अन्जुम जस्तै अरु शिक्षक शिक्षिकाले सहयोग गर्दै आएका छन् ।

पुराना राम्रा कुराहरुलाई जगेर्ना गरेर नयाँ कुराको अभ्यास गरिनु पर्ने अन्जुमले बताइन् । ‘म आफ्नो परम्पराभित्र समय अनुसारको आधुनिकता खोज्छु ’उनले भनिन् ,‘ परिवर्तनको खोजीसँगै राम्रा संस्कार संस्कृतिलाई छोडेर होइन, जगेर्ना गर्दै जानु पर्छ ।’
स्कूल समयमा बुर्खा लगाउने अन्जुम अरु बेला भने कुर्ता सुरुवाल लगाउँछिन् । हाफ पेन्ट , स्कर्टजस्ता पोशाक मन नपराउने अन्जुम भन्छिन् ‘ आधुनिकताको नाममा मलाई उच्छृंखलता चाहिँ मन पर्दैन ।’
बिर्तामोड नगरपालिका कार्यालयको छेउमा रहेको सो मदरसा पूर्वकै नमूना मदरसाको रुपमा विकसित हुँदै गएको छ । त्यहाँ अंग्रेजी माध्यममा पठनपाठन हुने गरेको छ । विद्यालयमा १३ जना शिक्षक शिक्षिका छन् । त्यसमध्ये ३ जना मुस्लिम छन् । गैरमुस्लिमहरुले मदरसामा पढाउने गरेको पूर्वमा पहिलो हो ।

त्यसैगरी सोही मदरसामा बिर्तामोड ७ की रेनुका थापा खातुन पनि शिक्षिका छिन् । परम्परागत सोचलाई परिवर्तन गराउनका लागि उनले पनि सहयोग गर्दै आएकी छन् । आफू हिन्दु भएर उनले २०६७ सालमा धन मोहम्मदसँग प्रेम विवाह गरिन् । माइतमा आमाले स्वीकार गरेपनि ११ वर्ष बितिसक्दासम्म दाजुले स्वीकार नगरेको उनले बताइन् । शुरुमा एक महिनाको रोजा ब्रत गर्दा ढलेको अनुभव सुनाउँदै उनले अब भने सजिलै रोजा गरिरहेको बताइन् । हिन्दु धर्म जतिको उदार नभएको मुस्लिम समुदायमा केही कुरीतिहरु रहेको उनले बताइन् । ‘ मुस्लिम महिलाहरुलाई घरबाट निस्कन दिइदैन ’उनले भनिन् ,‘ महिलाहरुलाई पनि केही गरेर देखाउने अवसर दिनुपर्यो ।’ हरेक कुरा परिवर्तनशील भएकाले मानिसले त्यही अनुसार चल्दा उपयुक्त हुने उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्