द्रोण अधिकारी / सुरेश आले ‘सर्जु’
झापा । सिजन शुरु भएपछि यतिबेला मूर्तिकारहरु मूर्ति बनाउन ब्यस्त छन् । विश्वकर्मा पूजा , दुर्गा पूजा , तिहारजस्ता चाडपर्वलाई लक्षित गरी मूर्तिकारहरु यतिबेला मूर्ति निर्माणमा जुटेका हुन् ।

झापाको साविक महेशपुर ६ हाल भद्रपुर ६ मोतियावारी माता मन्दिर छेउमा दुई दशकयता माटोको मूर्ति बनाएर जीवन गुजारा गर्दै आएका विष्णु राजवंशी लगनशील र मेहनती युवा कलाकार हुन् ।
अभिषेक मूर्ति उद्योगका नाममा उनको पेशा मेचीदेखि महाकालीसम्म चर्चित छ । पछिल्ला केही वर्षयता आदिवासी जनजातिको मौलिक पहिचान जोगाउन उनी कला र संस्कृति संरक्षणमा जुटेका छन् ।
हिन्दु परम्पराका विशेष गरी विश्वकर्मा , दशैं, तिहार, छठ, सरस्वती पूजालगायतका चाडपर्वमा मूर्तिको खपत हुने देवी देवताका मूर्ति निर्माणमा सकृय राजवंशी विभिन्न जातीय संस्कार संस्कृतिका झलक दिने मूर्तिसमेत बनाउन व्यस्त छन् ।
उनी पिताको पेशालाई निरन्तरता दिने दोस्रो पुस्ताका मूर्तिकार हुन् । उनको मूर्तिकला हिन्दु संस्कृतिका विभिन्न पर्वहरुमा बढी खपत हुने कारण परिवार पाल्ने पेशा बनेको छ । दुईजना छोराछोरीलाई स्तरीय शिक्षा दिने, घर परिवार धान्ने आधार बनेको मूर्तिकला राजवंशी परिवारको पहिचान पनि हो । पछिल्ला दुई वर्षयता कोरोना संक्रमण बढेसंगै मूर्तिकला पेशा पनि संकटमा परेको उनी बताउँछन् ।

माटोसंगै खेलेर पाँच जनाको परिवार पाल्दै आएका राजवंशी जीवनलाई मूर्तिसंगै साट्दै विश्वकर्मा, शिव, पार्वती, काली ,छैठी, सरस्वती, लक्ष्मी, भगवतीलगायतका विभिन्न देवी देवताका मूर्ति बनाएर बिक्री गर्ने गरेका छन् । राजवंशी आफूसित रहेको कला अरुलाई हस्तान्तरण गर्न तत्पर भए पनि मूर्तिकला सिक्न कोही सम्पर्कमा नआएको बताउँछन् ।
त्यस्तै बिर्तामोड नगरपालिका वडा न. ४ पुरानो भद्रपुर रोडका रामबृक्ष पंडितले मूर्ति बनाएर बिक्री गरी गुजारा चलाउँदै आएका छन् । सहज बन्दै गरेको कोरोना संक्रमण र नजिकिदै गरेको चाडवाडले उनको व्यस्तता बढेको हो । उनी यतिखेर निकै व्यस्त देखिन्छन् ।

२०४९ सालदेखि पंडितले मूर्ति बनाएर बिक्री गर्न शुरु गरेका थिए । २०४९ देखि ०७८ सम्म आउँदा उनको यो यात्रा २९ बर्षको पुगेको छ । उनले यही पेशाबाट ४ जना छोराको पालनपोषण , शिक्षादिक्षा र परिवार चलाउँदै आएका छन् । उनले यो अवधिसम्म आईपुग्दा बिक्री गरेको मूर्तिको लेखाजोखा छैन । उनले दुर्गा , विश्वकर्मा र सरस्वतीको मूर्ति बढी बिक्री हुने गरेको बताए । वर्षमा लगभग एक सयवटा विश्वकर्माको मूर्ति,१० वटा भगवतीको मूर्ति र एक सयकै हाराहारीमा उनी सरस्वतीको मूर्ति बिक्री गर्थे । कोरोनाका कारण अघिल्लो वर्ष लगभग मूर्तिको बिक्री शुन्यमा झर्यो । यो वर्ष पनि मूर्तिको अर्डर खासै नआउँदा उनको मन खिन्न छ । यस्तै हो भने आफ्नो रोजीरोटी गुम्ने स्थितिमा रहेको उनी चिन्ता गर्छन् । अघिल्लो वर्ष भगवतीको मूर्तिको अर्डर नै आएन । अर्डर आएको एक–दुईवटा मूर्ति पनि रद्ध भयो । जम्मा विश्वकर्माको २० वटा मूर्ति बिक्री गरे । बिर्तामोड, बिर्ताबजार, गरामुनी आसपासका क्षेत्रलाई उनले मूर्ति बिक्री गर्दै आएका छन् । कोरोनाको कारण उनको मूर्ति बिक्रीमा भारी गिरावट आएको थियो । तर अहिले उनको सुस्ताएको व्यापार थोरै ब्यँुतिएको छ । बिक्रीका उनले विश्वकर्माको ५७ वटा मूर्ति बनाएका छन्।
यो वर्ष विश्वकर्माको मूर्तिको व्यापारमा थोरै भएपनि सुधार हुन थालेकोले उनको मुहारमा चमक आएको छ । अब भगवतीको मूर्तिको पनि अर्डर आईदिए अगाडिको वर्षको खर्च सामान्य उठ्थ्यो भन्ने उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्