बिर्तामोड,भदौ २८ । नेपाली कांग्रेसको आसन्न गाउँ/नगर अधिवेशनका लागि उम्मेद्वारी घोषणा गरेका उम्मेद्वारहरुले क्षेत्रीय प्रतिनिधिहरुसँगको भेटघाटलाई तीब्र बनाएका छन् ।

यसपटकको निर्वाचनमा गाउँ/नगर कार्यसमिति चयनका लागि क्षेत्रीय प्रतिनिधिले मात्रै मतदान गर्ने कार्यविधि पार्टीले पारित गरेपछि नेतृत्वका आकांक्षीहरुले कार्यकर्ता भेटघाटलाई तीब्र बनाएका हुन् ।
यसक्रममा नेपाली कांग्रेस बिर्तामोड नगर समितिका सभापति एवं आगामी कार्यकालका लागि सभापतिका उम्मेद्वार भोजराज सिटौलाको प्यानलले बिर्तामोड –५ का क्षेत्रीय प्रतिनिधिहरुसँग भेटघाट गरेको छ । जेष्ठ क्षेत्रीय प्रतिनिधि पुष्पलाल चौधरीको अध्यक्षता र भोजराज सिटौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै नगर सभापति सिटौलाले शनिश्चरे माविमा अध्ययन गदागर्दै आफू नेविसंघबाट राजनीतिमा प्रवेश गरेको जानकारी दिँदै पार्टीको नीति, सिद्धान्त र विचारप्रतिको आफ्नो प्रतिबद्धता र अहिलेसम्मको राजनीतिक योगदानको मूल्याङ्कन गरेर आफ्नो प्यानललाई विजयी गराउन आग्रह गरे ।
आफ्नो कार्यकालमा नेपाली कांग्रेस बिर्तामोड नगर समितिको भवन निर्माणका लागि जिल्ला समितिका पूर्व सचिव लक्ष्मण खड्काकी धर्मपत्नी अन्जु खड्काबाट लगभग २ करोड मूल्यको जग्गा उपलब्ध गराउन सफल भएको बताउँदै उनले आगामी कार्यकालमा पार्टी कार्यालय निर्माण गर्ने योजना सुनाए ।
राजनीतिमा लागेर आफूले अहिलेसम्म कुनै लाभ नलिएको स्पष्ट पार्दै उनले आफू जीवनभर नेपाली कांग्रेस पार्टी र जनताको सेवामा समर्पित रहने प्रतिबद्धता जनाए ।

सिटौलाको प्यानलबाट उपाध्यक्षका उम्मेद्वार सूर्य कन्दङ्वा र राजकुमार राजवंशी, सचिवका उम्मेद्वार उत्तम खनाल र दिवाकर प्रसाई, सहसचिवका उम्मेद्वार रमेश चौधरी र दिनेश पराजुलीले आ–आफ्नो राजनीतिक योगदानबारे बताउँदै आफूहरुको प्यानललाई विजयी गराउन आग्रह गरेका थिए ।
सिटौला नेतृत्वको प्यानलले आगमी दिनमा गुटरहित, ब्यवस्थित र एकताबद्ध कांग्रेसको परिकल्पना, स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेद्वारलाई बहुमतसहित निर्वाचित गराउने सुनिश्चितता, पार्टीको नगर कार्यालय भवन निर्माण, पार्टीमा समान सहभागिता र समावेशिताको अनुभूति गराउने, आमनागरिकको दुःखसुखमा साथ र सहयोगको प्रतिबद्धता, युवा तथा खेलकुद क्षेत्रको विकास र लोकतान्त्रिक गणतन्त्र एवं संविधान मजबुद बनाउने संकल्प प्रस्ताव अघि सारेको छ ।

लक्ष्मी आचार्यले सञ्चालन गरेको कार्यक्रममा महाधिवेशन प्रतिनिधि सिता पौडेल, उद्योग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, लीला मैनाली, गोपाल मैनाली, नरेशमान धिमाल, केशव ताम्राकार, विरु दर्नाल, ज्योती चुडाललगायतले बोलेका थिए । भेलामा उपस्थित सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरुले उक्त प्यानललाई समर्थन गर्दै लोकतान्त्रिक पद्धतिको पूर्ण पालनासहित स्वस्थ प्रतिष्पर्धा गर्न आग्रह गरेका थिए ।
भदौ २७ गतेका लागि तोकिएको गाउँ/नगर निर्वाचन नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको बैठकले आगामी असोज ९ गते गर्ने घोषणा गरिसकेको छ । वडा अधिवेशन नसकिएका लगभग २० जिल्लाको वडा अधिवेशन असोज ५ गते सकिएपछि ९ गते देशभर एकैसाथ पालिकास्तरको निर्वाचन हुने कार्यतालिका छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्