भद्रपुर, भदौ ३१ । भद्रपुर नगरपालिकाको नगर शिक्षा समितिले असोजबाट भौतिक रूपमा सम्पूर्ण पठनपाठन हुने गरी नगरक्षेत्रका विद्यालय खोल्ने निर्णय गरेको छ ।
झापाका अन्य स्थानीय तहले भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि भद्रपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर नगरभित्रका सबै विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो ।
कोरोना महामारी तीव्ररुपमा बढेसँगै नगर शिक्षा कार्यालयले गत बैशाख १४ गतेबाट नगरक्षेत्रका सम्पूर्ण विद्यालयमा भौतिक रूपमा पठनपाठन लगायत परीक्षा रोक्ने निर्णय गरेको थियो । नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेलका अनुसार सरकारले तोकेको स्वास्थ्य सुरक्षाका सावधानीलाई पूर्णरुपमा पालना गर्दै भौतिक रूपमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालन गर्ने निर्णय नगर शिक्षा समितिले गरेको हो ।