बिर्तामोड, असोज ८ । नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत झापाका पालिका तहको निर्वाचनका लागि १५ वटै पालिकाहरुमा मतदान केन्द्र तय गरिएको छ ।

निर्वाचनको पूर्वतयारीका क्रममा सबै पालिकामा पुगेका मतदान अधिकृत र स्थानीय पार्टी कार्यसमितिबीचको समन्वयमा मतदानस्थल तय गरिएको हो । त्यस्तै सहमतिको सम्भावना भएका पालिकाहरुमा सहमतिको प्रयास पनि जारी राखिएको छ ।
आकांक्षीहरुबीच सहमति गराएर सर्वसम्मत नेतृत्व चयनका लागि विभिन्न पालिकाहरुमा पहल जारी राखिएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए । उनका अनुसार अर्जुनधारा नगरपालिकामा सभापतिबाहेक सबै पदाधिकारीका आकांक्षीहरुबीच सर्वसम्मत गरिएको छ ।नगर समितिमा प्रत्येक वडाबाट १ महिलासहित ३ गरी चयन हुने ३३ जना सदस्य र समावेशी कोटाअन्तर्गत चयन हुने २२ जना सदस्यका विषयमा ९० प्रतिशत कोटामा सहमति भइसकेको नेपाली कांग्रेस झापा प्रचार–प्रसार विभागका संयोजक कृष्ण हुमागाईले जानकारी दिए । आकांक्षीहरुका बीच भएको छलफलपछि उपसभापतिमा प्रशान्त भण्डारी र चतुर्भुज काफ्ले, सचिवमा इन्दिबर खड्का र मेदनी गुरागाई, सहसचिवमा इशान पौडेल र निरज दाहाललाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।

उम्मेद्वारी घोषणा गरेर पनि सर्वसम्मत नेतृत्व चयनका लागि सहयोग पु¥याउने गंगा मैनाली, जीवन भण्डारी, भाष्कर भटराई, खेम अधिकारी र इन्द्र पौडेललाई पनि पार्टीका विभिन्न तहमा जिम्मेवारी दिन पहल गरिने हुमागाईले बताए । यसैबीच अर्जुनधारा नगर समिति सभापतिका लागि उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचार–प्रसार गरिरहेका हेमराज खरेल र भिष्म मिश्रबीच पनि सहमति गराउने पहल भइरहेको बताईएको छ ।
सर्वसम्मत पदाधिकारी चयनपछि आयोजित भेलामा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेतृत्वको विवेकले भ्याएसम्म सबैलाई न्याय दिएको बताए । कांग्रेसलाई कमजोर बनाउन विपक्षीले अनेक झमेला र घुसपैठ गराउन सक्नेतर्फ सचेत रहन समेत नेता बुढाथोकीले सम्पूर्ण कार्यकर्तामा आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति थापाले कार्यकर्ता एवं चुनावी प्रतिष्पर्धामा उत्रिएका नेतृत्वबीचको सहमति, सहकार्य एकता र मेलमिलापले नजिकिएको स्थानीय, प्रदेश र संघीय तीनै तहका उम्मेद्वारले विजय प्राप्त गर्ने धारणा राखे । झापाको अर्जुनधारामा सहमतिमै नेतृत्व चयन हुने र विभिन्न पालिकाहरुमा सहमतिमै नेतृत्व चयनको पहल जारी रहेको बताउँदै उनले लोकतान्त्रिक पद्धतिअनुरुप प्रतिष्पर्धामा उत्रिएका नेतृत्वले प्रतिष्पर्धी भावना नराखी पार्टीलाई एकढिक्का बनाउन आह्वान समेत गरे ।

नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासमिति सदस्य दीपक तामाङ, महाधिवेशन प्रतिनिधि पुष्प ओझा, राजकुमार बराइलीलगायतको उपस्थिति रहेको थियो ।
यसैबीच असोज ९ बाट शुरु हुने निर्वाचनमा लागि मेचीनगरको धुलाबारी मा.विमा निर्वाचन केन्द्र तय गरिएको छ । यसैगरी बुद्धशान्तिमा नेपाली कांग्रेस गाउँ समितिको कार्यालय , अर्जुनधाराको नेपाली कांग्रेस नगर समितिको कार्यालय , बिर्तामोडको महेन्द्र रत्न मा.वि, भद्रपुरमा एन.सि.डि.सी भवन, कचनकवलमा सुकुनाढिकी सामुदायिक भवन , हल्दिबारीमा जयदुर्गा मन्दिर , बाह्रदशीमा जेष्ठ नागरिक भवन, कनकाईमा उद्योग बाणिज्य संघको सभाहल, शिवसतासीमा राष्ट्रिय रमणीय मा.वि. , कमल गाउँपालिकामा नेपाली कांग्रेस गाउँ समितिको कार्यालय, दमकमा दिपिनी मा.वि., गौरादहमा गौरादह बहुमुखी क्याम्पस र गौरीगञ्जमा गौरीगञ्ज क्याम्पसलाई मतदानस्थल तय गरिएको मतदान अधिकृतहरुले जनाएका छन् ।
क्षेत्रीय प्रतिनिधिले मात्रै मतदान गर्ने यसपटकको निर्वाचनमा झापाबाट तीनहजार तीनसय ६८ जनाले मतदान गर्नेछन् । गाउँ एवं नगरपालिकाको निर्वाचनका लागि सभापतिको उम्मेद्वार हुन क्षेत्रीय प्रतिनिधि अनिवार्य हुनुपर्नेछ भने पदाधिकारी तथा सदस्यमा क्रियाशील सदस्यले पनि उम्मेद्वारी दिन पाउनेछन् । तर क्रियाशील सदस्यहरुले पदाधिकारी र सदस्यमा उम्मेद्वारी दिएपनि मतदान गर्ने अधिकार भने प्राप्त छैन ।

यसपटकको निर्वाचनमा सबैभन्दा बढी मेचीनगरमा–४९६ क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् भने हल्दिबारीमा सबैभन्दा कम ११० जनाले मतदान गर्नेछन् । यसैगरी बुद्धशान्तिमा १३७, अर्जुनधारामा २४४, विर्तामोडमा २८०, भद्रपुरमा २३९, कचनकबलमा १६५, बाह्रदशीमा १६०, कनकाई १८६, शिवसतासीमा ३६८, कमलमा १३७, दमकमा ३२६, गौरादहमा २४६, गौरीगञ्ज १२६ जनाले मतदान गर्नेछन् । कार्यसमितिमा सबैभन्दा बढी मेचीनगरमा सातजना पदाधिकारीसहित ८२ जना र सबैभन्दा कम हल्दिबारीमा ३२ जना निर्वाचित हुनेछन् । यसपटकको निर्वाचनमा सभापति–१, उपसभापति–२, सचिव–२, सहसचिव–२ र क्रियाशील सदस्य र वार्ड संख्याको आधारमा सदस्य निर्वाचित हुनेछन् भने कोषाध्यक्ष निर्वाचित सदस्यमध्येबाट मनोनयन गरिने कांग्रेसको विधान छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्