मेचीनगर , असोज १४ । मेचीनगरको मुख्यः व्यापारिक केन्द्रविन्दु काँकरभिट्टाबाट बजार अनुगमन टोलीले बिहीबार लाखौ मुल्यका सामान जफत गरेको छ ।

दशैँतिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्य वस्तुको मुल्य दिनहुँजसो उकालो लागेको उपभोक्ताको गुनासो आएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल नेतृत्वको अनुगमन टोलीले काँकरभिट्टाका पसलहरुको अनुगमन गरेको थियो ।

सोक्रममा उपभोग्य मिति गुज्रिएका खाद्य वस्तु टोलीले नियन्त्रणमा लिएको मेचीनगर नगरपालिका खाद्य अधिकृत दीपेन्द्र कार्कीले बताए । दशैंतिहारलगायत अन्य चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र खाद्य सामग्रीको मुल्यबृद्धि नियन्त्रण गर्न मेचीनगरमा बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रिमालले जानकारी दिए ।
टोलीले अनुगमनका क्रममा वील विजक चुस्तदुरुस्त नराखेको, मुल्यसूची नराखेको, राखेको भए पनि त्यसलाई दैनिकरुपमा व्यवस्थापन नगरेको, पसलमा उपभोग्य मिति सकिएका खाद्य वस्तु फेला पारेको थियो । साथै विद्युतीय तराजुको आवश्यक कागजात नराखेको फेला परेपछि तत्काल सवै प्रक्रिया पुर्याएर आवश्यक कागजात राखी दर्ता गर्न व्यवसायीहरुलाई सुझाव दिइएको छ । उपभोग्य मिति समाप्त भएको फेला पारेको ती वस्तु नष्ट गर्ने जनाइएको छ । टोलीले खुद्रा व्यवसायीहरुलाई होलसेल व्यवसायीले जारी गरेको वील विजक सुरक्षित राख्न र माग गरेका बेला उपलब्ध गराउन भनेको छ । केपी इन्टरप्राइजेज, डीसी मल्टि सेन्टर, सुशीला भेराइटीज, आस्था ट्रेडर्स, न्यू भेराइटिज, मोहन किराना पसललगायतको टोलीले अनुगमन गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्