झापा, असोज २२ । २०६२÷०६३ को दोस्रो जनआन्दोलनमा सेनाको गोली लागेर शहिद भएका सुरज विश्वासको ४१ औं जन्मजयन्ती मनाइएको छ ।

नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको आयोजना तथा भद्रपुर नगर समितिको समन्वयमा भद्रपुर–६ स्थित शहिद सुरज विश्वास स्मृतिपार्कमा जन्मजयन्ती मनाइएको हो ।
शहिद सुरज विश्वासको अर्धकदको सालिकमा माल्यार्पण, पार्कमा वृक्षरोपण र शहिद आमालाई सम्मान गरी पहिलोपटक जन्मजयन्ती मनाइएको हो ।

समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकार र भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले शहिद आमा मिना विश्वासलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका मेयर श्रेष्ठले शहिद सुरज विश्वासले दिएको बलिदानको कदर गर्दै शहिद परिवारलाई स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । त्यस्तै नगरपालिकाकी उपमेयर चन्द्रामाया श्रेष्ठले शहिद आमालाई नगरपालिकाले मासिक रुपमा १० हजार दिने कार्यपालिका बैठकले निर्णय गरिसकेको बताइन् । समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकारको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर ६ नम्बर वडा अध्यक्ष प्रेम बरुवाल, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, बंगाली समाजका सांस्कृतिक, कला तथा साहित्य विभागका संयोजक सन्तोष सरकारलगायतले मन्तव्य राखेका थिए ।
केन्द्रीय सदस्य अनुप रायले शहिद सुरज विश्वासको जीवनीमाथि प्रकाश परेको कार्यक्रमको सञ्चालन समाजका केन्द्रीय उपाध्यक्ष विप्लव घोषले गरेका थिए ।
शहिद सुरजको जन्म २०३७ साल असोज २९ गते भएको थियो । बडादशैँ सुरु भइसकेको र असोज २९ गते टिका लगाउने दिन परेकोले एक साता अघि जन्मजयन्ती मनाउनु परेको केन्द्रीय सदस्य पार्थ मण्डलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्