बिर्तामोड,असोज २२ । बर्षौदेखि भूमिहीन सुकुम्बासीहरु बसोबास गर्दै आएको बिर्तामोड ३ को जग्गा हत्याउन खोज्ने षडयन्त्रको स्थानीयले खुलेर प्रतिवाद गर्ने भएका छन् ।

सुकुम्बासीहरु बसोबास गरेको बस्ती

कुनै पनि हालतमा सुकुम्बासीहरुलाई उठिबास हुन नदिने पक्षमा उनीहरु उभिएका हुन् । ‘गैरकानूनी र गलत ढंगले सुकम्बासीहरु बसेको जग्गा व्यक्तिको नाममा पारिएको रहेछ’ बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौलाले भने ,‘ हामी त्यसको प्रतिवाद गर्छौ ।’ खोला पैनीको जग्गा त्यसरी व्यक्तिको नाममा पारिनु सरासर गलत भएको उनले बताए । दमक १० का दुईजना महिलाले बर्षौदेखि भूमिहीन सुकुम्बासीहरु बसोबास गर्दै आएको बिर्तामोड ३ को जग्गा आफ्नो नाममा पारेका हुन् ।

दमक १० की सरस्वती ढकाल र घनेन्द्रदेवी थापाले बिर्तामोड ३ स्थित अधुवा खोला किनारको चिहानघारी सफा गरेर सुकुम्बासीहरु बसेको ८ कठ्ठा जग्गा आफ्नो नाममा पारेका हुन् । उनीहरुले बन शुद्धिकरण आयोगबाट धनीपूर्जा लिएको बताइएको छ । बिर्तामोड ३ स्थित सैनिकमोडदेखि पश्चिम अधुवा खोलाको पुलदेखि २ सय मिटर दक्षिण खोला किनारको सुकुम्बासी बसेको जग्गा उनीहरुले हत्याएका हुन् । जग्गा आफ्नो नाममा पारेर हालसाविकका लागि आएपछि त्यस घटना सार्वजनिक भएको हो । गत असोज १६ गते शनिबार हालसाविकका लागि नापी कार्यालयबाट अमिन खटिएको थियो । नापी कार्यालयका सर्भेक्षक रामकुमार यादव र शत्रुधन चौधरी हालसाविक गर्नका लागि निवेदन दिइएको जग्गा नापी गर्न आएका थिए । सो जग्गामा १० घर सुकुम्बासीले घर टहरा बनाएर बसेका छन् । सुकुम्वासी बस्ती रहेको खोलाको किनारको जग्गा आफ्नो नाममा दर्ता रहेको बताएपछि सुकुम्बासीहरु आक्रोशित बनेका छन् ।

बिर्तामोड–३ को करेलावारी टोल विकास संस्था अन्तरगत सैनिकमोड पश्चिममा रहेको अधुवा खोलाको किनारमा बसोवास गर्ने सुकुम्बासीहरुले आफ्नो बसोवासस्थललाई दमकका ती महिलाहरुले खाली गर्न धम्की दिएपछि आक्रोशित बनेका हुन् । बिर्तामोड–३ को वडा कार्यालयमा सुकुम्बासीहरुले लिखित निवेदन दिँदै न्याय पाउनुपर्ने माग गरेका छन् । उनीहरुले सोमवार न्यायको माग गर्दै निवेदन वडा कार्यालयमा बुझाएको बताएका छन् । उक्त बिषयमा बिर्तामोड–३ का ५३ जना सुकुम्बासीहरुले हस्ताक्षरसहित लिखित रुपमा वडा कार्यालयमा सोमवार उजुरी दिएका छन् । यसैबीच घटनामा नाम मुछिएका बुनु देवान र मिलन राईले आफूहरुलाई झुक्याएर त्यस गलत काममा लिएर गएको बताएका छन् । अमिन आएको दिन उनीहरु पनि गएका थिए । लक्ष्मण बस्नेतले आफूहरुलाई झुक्याएर लिएर गएको उनीहरुको भनाई छ । ‘ एकछिन पुगेर आऔं न भन्दै आफूहरुलाई झुक्याएर गलत ठाउँमा लिएर गए अनि छिमेकीसँग नराम्रो गराए’ देवानले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्