बिर्तामोड , असोज २३ । झापाको बिर्तामोड ३ मा रहेको मदरसा तालिमुल कुरानलाई जग्गासहित भवन निर्माण गरिदिने दुर्गा प्रसाईले घोषणा गरेका छन् ।

बिएण्डसी अस्पतालका संचालक प्रसाईले मुस्लिम बालबालिका अध्ययनरत सो मदरसाले निर्माण गर्न लागेको जग्गामा २५ लाख मूल्य बराबरको १ कठ्ठा र आफ्ना पितृको नाममा एउटा भवन निर्माण गरिदिने घोषणा गरेका हुन् ।
बिद्यालय परिसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि रहेका प्रसाईले सो घोषणा गरेका हुन् । बिर्तामोड नगरपालिकामा एकमात्र मुस्लिम बालबालिका अध्ययन गर्ने धार्मिक बिद्यालय भएकाले सबैको साझा सम्पत्तिको रुपमा विकास गर्नु पर्ने प्रसाईले बताए ।
बालबालिका, अभिभावक र स्थानीयले स्वागत गर्दै प्रसाईलाई बिद्यालयको विकासका लागि सहयोग गरिदिन आग्रह गरेका थिए । कार्यक्रममा स्थानीय युवा तथा दाता कैलाश प्रसाईको विशेष आतिथ्य तथा बिद्यालयका संस्थापक अध्यक्ष गुलाम नबीको अध्यक्षता रहेको थियो । शिक्षक मानुसी राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अफरोज खानले गरेका थिए ।