बरतलाल राजवंशी
कुमरखोद, असोज २५ । झापा गाउँपालिका वडा नं ५ पन्थापडानजिकै विरिङ नदीको घाटमा एक व्यक्तिले बाँसको पुल बनाएर मानिसहरुलाई आवतजावत गर्न सजिलो बनाईदिएका छन् तर, त्यस बाँसको पुलबाट वारिपारि गरेवापत ठेकेदार अब्दुल सुहानले मनोमानी तरिकाले चर्को शुल्क लिने गरेका छन् ।

झापा गाउँपालिकाले विरिङ नदीको घाट ७० हजार रुपैयाँमा वडा नं ५ बस्ने प्रकाश गुरुङलाई ठेक्का दिएको थियो । गुरुङले ५० हजार रुपैयाँ नाफा खाएर १ लाख २० हजारमा विरिङ घाट वडा नं ५ पन्थापाडाका सुहानलाई बिक्री गरे ।

सुहानले विरिङ नदीको घाट आर्थिक वर्ष ०७८÷०७९ को लागि १ लाख २० हजार रुपैयाँमा आफूले गुरुङसँग ठेक्का लिएको प्रतिदिन दैनिकलाई बताए । ‘मानिसलाई आवतजावत गर्न सजिलो होस्, खोला वारपार गर्दा लुगाफाँटा खोल्न झन्झट नहोस् , कोहि पनि मानिसहरु जोखिम मोलेर पानीबाट वारपार नगरोस् भन्ने उद्धेश्यले समाजसेवाको भावले आफूले उक्त बाँसको पुल पहिलो चरणमा ७० हजार रुपैयाँ खर्च गरेर बनाएको भोलिपल्ट नदीमा वाढी आएर बगाएर लग्यो’उनले भने । त्यसपछि फेरि १ लाख ५ हजार रुपैया खर्च गरेर नयाँ बाँसको पुल बनाएको उनले बताए ।
बाँसको पुलवाट वारपारी गर्दा एकजना व्यक्ति र मोटरसाईकलको ५० रुपैयाँ , २ जना व्यक्ति र एक मोटरसाईकल ७० रुपैयाँ , एक व्यक्ति एक साईकल ३० रुपैयाँ र मानिस मात्रै हिडे २० रुपैयाँ शुल्क लिने गरेको उनले बताए ।

जनताको गुनासो
विरिङ नदीमा बाँसको पुलवाट वारपार गर्दा झापा गाउँपालिकाले तोकेको दररेट भन्दा ठेकेदारले दोब्बर रकम असुल्ने गरेको कुमरखोद साना किसान सहकारी संस्थाका व्यवस्थापक रुपक राजवंशीले गुनासो पोखे । उनी भन्छन् ‘म एक्लो ब्यक्ति र मोटरसाईकल भद्रपुरबाट घर फर्किने क्रममा ठेकेदार सुहानले जवरजस्ती एकसय रुपैयाँ लिए । त्यसैगरी झापा गाउँपालिका वडा नं १ का जनप्रतिनिधि कृष्णप्रसाद गणेश र उनकी श्रीमतीसँग पनि जवरजस्ती एकसय तीस रुपैयाँ लिएको उनीहरुले बताए । ‘जनप्रतिनिधिसँग त ठेकेदारले जवरजस्ती रकम असुल गर्छन् भने सर्वसाधारणले अव के आशा गर्छन् त स्थानीय सरकारसँग’ गणेशले प्रश्न गरे ।
विरिङ नदीको बाँसको पुलको बारेमा आएको जनगुनासोका सम्बन्धमा गाउँपालिकाका प्रशासकीय अधिकृत हिमाल मिश्रले गाउँपालिकाले तोकेको दररेटभन्दा बढी शुल्क लिएमा ठेक्का रद्ध गरिने बताए । उनले आफूहरुले सुक्ष्म तरिकाले अनुगमन गरिरहेको बताउँदै शुल्क बढी लिएको पाईएमा कार्वाही गरिने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्