गौरीगञ्ज , असोज ३०। आमाबुवाको निधनपछि बिचल्लीमा परेका गौरीगञ्ज १ कुञ्जीबारीका तीन टुहुरा बालबालिकालाई कोचिला एकता जागरण केन्द्रीय समितिले आज धनीपूर्जा हस्तान्तरण गरेको छ ।

समितिले १ लाख ७५ हजार रुपैयाँमा १० धुर जग्गा खरिद गरी धनीपूर्जा हस्तान्तरण गरेको हो ।केही वर्षअघि बुवाको निधन भएपछि आमा मनसरी राजवंशीले आफ्ना तीन सन्तानलाई पालनपोषण गर्दै आएकी थिइन् । उनको पनि केही महिनाअघि निधन भएको हो । मुटुसम्बन्धी समस्या भएकी मनसरीको उपचारका लागि कोचिला एकता जागरण केन्द्रीय समितिले निकै पहल गरेको थियो । उनको निधन भएपछि १५ वर्षिया सरस्वती , १३ वर्षिया पुजा र ६ वर्षिय निरज राजवंशी टुहुरासँगै बेसहारा बनेका छन् । समितिका केन्द्रीय अध्यक्ष हंशनारायण राजवंशीले ती बालबालिकालाई धनीपूर्जा हस्तान्तरण गरेका हुन् ।

समितिका सल्लाहकार सदस्य राजेश राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष दिनेश्वर राजवंशी , विनोद राजवंशी ,हिलोबाला राजवंशी , जमुना राजवंशीलगायतको आतिथ्यता रहेको थियो । समितिका सचिव बिशाल राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन दिनेश ताजपुरियाले गरेका थिए । जग्गा खरिद गरिसकेपछि अब उनीहरुलाई घर निर्माण गरिदिने योजना रहेको सचिव बिशाल राजवंशीले बताए । उनले असहाय ती बालबालिकालाई अन्य सहयोगको खाँचो रहेको बताउँदै मनकारी सहयोगीहरुलाई आव्हान गरेका छन् । सोही अवसरमा रेखा राजवंशीको अध्यक्षतामा २५ सदस्यीय कोचिला एकता जागरण गौरीगञ्ज उपसमिति गठन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्