बिर्तामोड , असोज ३१ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले बिर्तामोड–१० विराटपोखरस्थित निर्माणाधीन मनकामना काली मन्दिरको निरीक्षण गरेका छन्।

त्यसक्रममा नेता सिटौलालाई मनकामना काली मन्दिर तथा सत्संग भवन समितिका अध्यक्ष ध्रुवप्रसाद शिवाकोटी,वरिष्ठ उपाध्यक्ष भीष्मकुमार चुडाललगायतले मन्दिर निर्माण कार्य तथा समितिको भावी योजनाबारे जानकारी गराएका थिए।

त्यस्तै सिटौलाले जग्गादाता स्व.हरिप्रसाद पाठकको परिवारलाई भेटघाट गरेका छन् । पूर्व गृहमन्त्रीसमेत रहेका नेता सिटौलाले समितिले गरेको कामको प्रशंसा गर्दै आफ्नो तर्फबाट यथासक्य सहयोग रहने बताए। मन्दिर निर्माणका लागि स्व.पाठककी श्रीमती र छोराबुहारी रमेश–कमला पाठकले एक कट्ठा जग्गा प्रदान गरेका थिए । गत बैशाखमा टेकेन्द्र थापाको अध्यक्षतामा मन्दिर निर्माण समिति गठन भई निर्माण कार्य जारी छ । विभिन्न दाताहरुको सहयोगमा मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको समितिका सचिव हरिप्रसाद सिटौलाले जानकारी दिए। समितिलाई सत्संग भवन निर्माणका लागि बिर्तामोड–९ का रमेश–विन्दा खरेलले एक कट्ठा जग्गा प्रदान गरेको समितिले जनाएको छ।