झापा , कातिक १ ।असोजको अन्तिममा आएको हावापानीले झापामा ५ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुर्याएको छ ।

बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण शनिबार रातिदेखि हावासहितको वर्षा भइरहेको छ । बेमौसममा भएको हावासहितको मनसुनी वर्षाले झापामा ५ हजार हेक्टरभन्दा बढी धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । खासगरी पसाउन लागेको र पाक्न लागेको अगुवा धानमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले बताए । ‘ धेरै ठाउँमा क्षति भएको सुनेर जिल्लाका पालिकाहरुमा बुझ्ने काम हुँदैछ’उनले भने ,‘सबैतिरको रिपोर्ट आइसकेपछि क्षतिको बारेमा यकिन तथ्यांक निकाल्न सकिन्छ ।’ मलिलो खेतको बोट अग्लो भएको धानलाई हावापानीले लडाएको हो । मन्सुली , रंजित, आरपिजस्ता धानमा बढी क्षति पुगेको कृषि अर्थविज्ञ भट्टराईले जानकारी दिए ।
लहलह पसाउने बेलामा धान ढालेपछि कृषकहरु चिन्तित भएका छन् । बिर्तामोड ९ का किसान माधव न्यौपानेले आफ्नो ७ कठ्ठा क्षेत्रफलको धान ढलेर सखाप भएको बताए । भात खान राम्रो हुने र बोट अलि अग्लो हुने आरपि जातको धान पसाउदै गरेको बेलामा ढलेको उनले बताए ।