इलाम , कातिक १ । इलामको रोङ गाउँपालिकाकी वडा सदस्य जयकला चाम्लिङको स्तन क्यान्सरका कारण निधन भएको छ ।

रोङ गाउँपालिका वडा नं १ की वडा सदस्य ५५ वर्षिया चाम्लिङको आफ्नै निवास रोङ १ चैनपुरेमा आज बिहान २ बजे निधन भएको हो । पिता अभिचन्द्र अधिकारी र माता हिरावाई अधिकारीको सुपुत्रीको रुपमा २०२३ साल कातिक ७ गते जन्मिएकी उनको दौलतकुमार चाम्लिङसँग विवाह भएको थियो । उनको छोरा तुलसी , छोरी ज्वाइँहरु सबिता र राज बस्नेत, बबिता र अर्जुन राई , नातिनी साइना राई रहेका छन् ।वडा सदस्य चाम्लिङको निधनप्रति दुख व्यक्त गर्दै रोङ गाउँपालिकाले आज शोक विदा दिएको छ ।

गाउँपालिका कार्यालय , मातहतका सबै वडा कार्यालय , सबै स्वास्थ्य संस्था र सबै शैक्षिक संस्थाहरुमा आज शोक विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले जानकारी दिए । उनले जनप्रतिनिधि एवं समाजसेवी चाम्लिङको निधनले ठूलो क्षति पुगेको बताए ।