बुधबारे , कात्तिक १ । बुद्धशान्ति गाउँपालिकामा रहेका भूमिहीन सुकुम्बासीहरुको समस्याबारे राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलालाई अवगत गराइएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उपस्थित राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष निरौलालाई बुद्धशान्ति गाउँपालिकाका सुकुम्बासीहरुको समस्याबारे जानकारी गराइएको हो । बुद्धशान्ति गाउँपालिकामा ६ हजार ४१६ परिवार भूमिहीन सुकुम्बासी रहेको लगत निकालिएको छ ।यसअघिको राष्ट्रिय भूमि आयोगको कामकार्वाहीलाई टेकेर अहिलेको आयोगले काम शुरु गर्न लागेको आयोगका अध्यक्ष निरौलाले बताए ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा,कांग्रेसका गाउँ सभापति चक्र शेर्मा , एमालेका इन्द्र अधिकारी , माओवादीका बोधराज दाहाललगायतले सुकुम्बासी समस्याका बारेमा बोलेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले स्वागत मन्तब्य राख्दै बुद्धशान्तिमा भएको सुकुम्बासी समस्याका बारेमा प्रकाश पारेकी थिइन् । बुद्धशान्ति वडा नं ४ मा अझै केही परिवारको लगत दिन बाँकी रहेको जनाइएको छ । उनीहरुको लगत लिने काम पर्सीदेखि शुरु गरिने गाउँपालिका अध्यक्ष भुजेलले बताए । लगत लिइसकेपछि सम्पूर्ण विवरण आयोगमा पठाएर त्यसपछि धनीपूर्जा वितरण गरिने अध्यक्ष भुजेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्