बिर्तामोड, कात्तिक ९ । आज कात्तिक ९ गतेका लागि तय गरिएको नेकपा एमालेको बिर्तामोड नगर अधिवेशनमा नगर अध्यक्ष पदका लागि ८ जना आकांक्षी देखिएका छन् ।यद्यपि जसरी पनि सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी छ ।

शुरुमा ९ जना आकांक्षी देखिएका थिए । त्यसमध्ये एकजनाले अध्यक्ष पदको आकांक्षा छोडेका छन् । शेखर कँडेलले सचिव पद पाए नगर अध्यक्षमा दावी नगर्ने बताएका हुन् । त्यसबाहेक एमालेको बिर्तामोड नगर अध्यक्ष पदका लागि सुवास भट्टराई , नगेन्द्रप्रसाद संग्रौला , उमानाथ ओली , नन्दलाल खरेल , भिष्मराज खरेल ,कृष्णप्रसाद मिश्र , मोहन शिवाकोटी र दुर्गाप्रसाद सिग्देल आकांक्षी देखिएका हुन् । एउटा नगर अध्यक्ष पदका लागि यति धेरै आकांक्षी देखिएपछि कार्यदलको सर्वसम्मत गराउने प्रयास कठिन हुने देखिएको छ । कार्यदलले सर्वसम्मत गराउनका लागि गत बिहीबार पहिलो पटक ती सबै आकांक्षीहरुलाई बोलाएर छलफल गराएको थियो । छलफलमा ती ९ जना नै उपस्थित थिए । त्यसपछि अर्को पटक पनि उनीहरुबीच छलफल गराइएको थियो । तर , छलफलमा शेखर कँडेलबाहेक अरुले आ–आफ्नो दावी छोड्न मानेनन् । ‘एउटा पदका लागि धेरै आकांक्षी देखिएपछि सहमतिका लागि छलफल राखेका थियौं ’ कार्यदलका संयोजक रोमणि भट्टराईले भने । नेकपा एमाले झापाले बिर्तामोडमा वडा र नगर अधिवेशनमा सर्वसम्मत गराउनका लागि रोमणि भट्टराई संयोजक र एकराज कार्की , जसमाया गजमेर , बद्री भट्टराई , देवराज कार्की , हरि ओझा र ध्रुव सुवेदी सदस्य रहेको समितिलाई जिम्मेवारी दिएको छ । वडा अधिवेशनबाट छानिएका करिब ४०० जना प्रतिनिधिले नगर अधिवेशनमा भाग लिनेछन् । उनीहरुले एक अध्यक्ष , एक उपाध्यक्ष , एक सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय नगर समिति चयन गर्नेछन् ।

वडा अधिवेशनमा जस्तै नगर अधिवेशनमा पनि सर्वसम्मत बनाउने प्रयास जारी रहेको कार्यदलका सदस्य बद्री भट्टराईले बताए । उनले जसरी पनि सहमति गराउनेतर्फ आफूहरुको प्रयास जारी रहेको जानकारी दिए । अधिवेशनमा सर्वसम्मत गराउनका लागि कार्यदलले सहमतिको विन्दु तय गरिसकेको छ । हिजो साँझ उपल्लो नेतृत्व र कार्यदलबीच सहमतिको विन्दु तय गर्ने विषयमा छलफल भएको थियो । त्यस विषयमा आज बिहान सबै आकांक्षीसँग छलफल गरिने कार्यदल सदस्य भट्टराईले बताए । यसैबीच हिजो नगर कमिटीको बैठक बसी राजनीतिक , सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरिएको भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्