सुरुङ्गा,कात्तिक १० । नेपाली कांग्रेस झापा क्षेत्र नं–४ का सचिव एवं सामाजिक ब्यक्तित्व शिव कँडेलले आफ्नो जन्मदिनमा नेपाल प्रेस युनियन झापाको अक्षयकोष स्थापनाको शुभारम्भ गरिदिएका छन् ।

आफ्नो जन्मदिनको अवसर पारेर कँडेलले नेपाल प्रेस युनियन झापाले स्थापना गरेको प्रेस युनियन झापा पत्रकार प्रोत्साहन अक्षयकोषमा ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्दै कोष स्थापनाको शुभारम्भ गरिदिएका हुन् । कनकाई नगरपालिकामा आयोजित अनौपचारिक कार्यक्रमका बीच शिव कँडेल र उनकी धर्मपत्नी पुष्पा कँडेलले प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाई, केन्द्रीय पार्षद यज्ञ पाठकलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।रकम ग्रहण गर्दै नेपाल प्रेस युनियन झापा शाखाका अध्यक्ष पूर्वेलीले अक्षयकोेष स्थापनाको लक्ष्य, उद्देश्य र सञ्चालन विधिबारे प्रकाश पारेकी थिइन् । साथै अध्यक्ष पूर्वेलीले शिव–पुष्पा कँडेल दम्पतीले गरेको सहयोगप्रति धन्यवादसहित हार्दिक आभार ब्यक्त गर्दै लक्ष्य प्राप्तिका लागि साथ दिन आग्रह गरिन् ।
सो अवसरमा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाँईले प्रेस युनियन आइ.एफ.जे. मान्यताप्राप्त संस्था भएको जानकारी गराउँदै लोकतान्त्रिक पद्धति, विधिको शासन, अभिब्यक्ति स्वतन्त्रता विषयमा प्रेस युनियनले खेलेको भूमिकाबारे चर्चा गरे । संस्थाको स्थायी कोष नहुँदा पटक–पटक सहयोग माग्नुपर्ने बाध्यताको अन्त्यका लागि कोष स्थापना गर्नुपरेको बताउँदै एउटै संस्थालाई पटकपटक गर्ने सहयोगलाई पूँजीका रुपमा स्थापना गर्नसके दाताहरुलाई पनि सहज हुने धारणा राखे ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रेस युनियनको भूमिका महत्वपूर्ण भएको धारणा राख्दै सामाजिक÷राजनीतिक ब्यक्तित्व कँडेलले प्रेस युनियनको संस्थागत विकास, लोकतन्त्रको स्थायित्व र वाक एवं अभिब्यक्ति स्वतन्त्रताका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले सहयोग गरेको बताए ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै ब्यवसायी एवं सामाजिक ब्यक्तित्व कुमारमणि पोखरेलले कुनै पनि संस्थाका गतिविधि सञ्चालनमा आर्थिक स्रोत ब्यवस्थापन महत्वपूर्ण कार्यको प्रारम्भ गरिदिएकोमा दाताप्रति सम्मान जनाउँदै अक्षयकोषले संस्थाको दीर्घकालीन सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रारम्भ भएको अक्षयकोषमा रकम बृद्धिका लागि आफ्नो पनि साथ र सहयोग रहने उनले प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्