बिर्तामोड , कात्तिक ११ । हालै आएको हावाहुरीसहितको अविरल वर्षाले झापाका विभिन्न क्षेत्रमा धान तथा तरकारी खेतीमा ठूलो क्षति पुर्याएको छ।
यसक्रममा बिर्तामोड नगरपालिका–९ बद्रीबारी टोलका ४० कृषकले लगाएको धान तथा तरकारी बालीमा क्षति पुगेको छ।
व्यावसायिक तरकारी खेती गर्दै आएका बृहस्पति सेडाईले बेमौसमी वर्षा र हावाहुरीका कारण टनेल उडाउनुको साथै आफूले ५कट्ठा जमिनमा लगाएको तरकारी बाली नष्ट भएको बताए। उनले लगाएको डेढ क्वीन्टल आलु, काउली,बन्दा, रायो, धनियालगायत बीउ तथा बेर्ना डुबानमा परेर नष्ट हुँदा तीस हजारभन्दा बढी लगानी खेर गएको बताए। पाँच कट्ठाको धान ढलेर क्षति पुगेको समेत उनको भनाइ छ। त्यस्तै सोही टोलका पद्मादेवी निरौलाले आफ्नो स्वामित्वमा रहेको एक बिगाहको पाक्न लागेको धान ढलेर सोतर भएको बताइन्। अर्का कृषक खगेन्द्र चुडालले आफ्नो सम्पूर्ण एक विगाह ५ कट्ठाको धान परालसमेत काम नलाग्ने गरी लडेर डुबेको बताए। उनीहरुले सम्पूर्ण जमिनको अन्नबाली सखाप भएपछि वर्षभरि के खाने भन्ने चिन्ता बढेको बताए। सोही क्षेत्रकी सावित्रा सिटौलाले आफ्नो काटेर राखेको १० कट्ठाको धानको कुन्युमा खोला पसेर डुबेको बताइन्।
बद्रबारी टोलमा राम खनाल, रमेश खरेल, गोपाल सिटौला, युवराज पराजुली,कृष्ण राजवंशी, नवीन सेडाई, आरवि आले, मोहन उप्रेती,तारानिधि खनाललगायत ४० किसानको धानबालीमा ५ कट्ठादेखि एक विगाहभन्दा बढी नष्ट भएको र सोको विवरण नगरपालिका बुझाइसकिएको टोल विकासका अध्यक्ष युवराज पराजुलीले जानकारी दिए। वर्षभरि खाने अन्न भित्र्याउने बेलामा सखाप भएसँगै कसरी जीवन धान्ने भन्ने चिन्ता बढेको उनीहरुले बताएका छन्। सम्पूर्ण खेती बिग्रिएकाले सरकारले क्षति मूल्यांकन गरी उचित क्षतिपूर्ति दिनुपर्ने पीडित किसानहरुको माग रहेको छ।
कृषि ज्ञान केन्द्र झापाले जिल्लाका पालिका र वडा कार्यालयमार्फत किसानलाई क्षतिको विवरण पठाउन निर्देशन गरेको थियो।