शनिश्चरे , कात्तिक १२ । नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बलदेव गोम्देन विजयी भएका छन् ।

बिहीबार पार्टी कार्यालयमा भएको निर्वाचनबाट अध्यक्ष पदका प्रत्यासी लोकनाथ गौतमलाई पराजित गरी गोम्देन अध्यक्षमा विजयी भएका हुन् । विजयी गोम्देनले गौतमलाई १५ मतले पराजित गरेका हुन् । अर्जुनधारामा २२९ मतदाता संख्या रहेकोमा २२६ मत खसेको निर्वाचन समितिले जनाएको छ । जसमा गोम्देनले ११७ मत ल्याए भने प्रतिद्वन्द्वी गौतमले १०२ मत पाएका थिए । ७ मत बदर भएको थियो । गोम्देन अर्जुनधारा नगरपालिकाका १० नम्बर वडाध्यक्ष हुन् भने गौतम ६ नम्बर वडाध्यक्ष हुन् । नगर कमिटीको अध्यक्षसँगै उपाध्यक्ष र उपसचिव पदमा पनि निर्वाचन भएको थियो । यस्तै, उपाध्यक्ष पदमा खगेन्द्र इङ्नामलाई पराजित गर्दै लोकमान श्रेष्ठ विजयी भएका छन् । इङ्नामले ७८ मत ल्याउँदा श्रेष्ठले १४१ मत ल्याए । उनको मत निर्वाचनकै सर्वाधिक मत हो । यसैगरी, उपसचिव पदमा भएको निर्वाचनबाट सरिता भण्डारी विजयी भइन् । प्रत्यासी कमलादेवी भण्डारीलाई ३० मत अन्तरले पराजित गर्दै सरिता भण्डारी विजयी भएकी हुन् । कमलादेवीले ९५ मत ल्याउँदा सरिताले १२५ मत ल्याएकी छन् । मंगलबार उद्घाटन भएको प्रथम नगर अधिवेशनमा बुधबार मनोनयन दर्ता गरिएको थियो । यसअघि ६१ जना सदस्य निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्