झापा , कात्तिक १४ । कला साहित्य र रंगमञ्चको क्षेत्रबाट समाजको श्रीबृद्धिका लागि बिशिष्ट योगदान पुर्याएकोमा क्षितिज नाट्य समूह झापाका युवा रंगकर्मी माधब कल्पितलाई प्रदेश भाषा ,साहित्य ,कला प्रतिभा सम्मान प्रदान गरिने भएको छ ।

बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण कार्यका अभियन्ता बिर्तामोड –२ निवासी कल्पितलाई राजनीतिभन्दा माथि उठेर बिशुद्ध समाज सेवाको भावनाबाट प्रदेश १ कै ऐतिहासिक कला मन्दिर निर्माणमा दिएको निरन्तरता र सफलताको सही मूल्यांकन गर्दै प्रदेश सरकारबाट सम्मान गर्न लागिएको सामाजिक विकास मन्त्रालय प्रदेश न –१ ले जनाएको छ । कात्तिक १२ गतेको मन्त्रिस्तरीय बैठकको निर्णयपश्चात् जारी सूचनामा बालकृष्ण पोखरेल भाषा साहित्य पुरस्कार बलराम पोखरेललाई प्रदान गरिने र प्रदेश भाषा साहित्य कला प्रतिभा सम्मानअन्तरगत साहित्यतर्फ ७ र नवोदित भाषा साहित्य कला प्रतिभाबाट अन्य ७ जना छनोटमा परेको छनोट समिति सदस्य खेम नेपालीले जानकारी दिएका छन् । मन्त्रालयले निकट भबिष्यमा कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गर्ने नेपालीले जनाएका छन् ।

विगत २ दशकभन्दा लामो समयदेखि नाट्य – रंगमञ्चको क्षेत्रमा रहेर कला प्रतिभाहरुलाई संगठित गर्दै पछिल्लो समयमा प्रदेश नं–१ कै पहिलो ऐतिहासिक धरोहरका रुपमा परिचित बहुजाति,बहुभाषी,बहु– साँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणमा कल्पित जुटेका छन् । कल्पितकै अथक प्रयासबाट यतिबेला आफ्नै जमिनमा साँस्कृतिक संग्रहालयसहितको नाट्य कला मन्दिर निर्माण कार्यले निरन्तरता पाइरहेको छ । २ करोड ५०लाखको लागतमा ३ सय ५० दर्शक क्षमताको सुबिधासम्पन्न झापा नाटक घर निर्माण भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्