झापा, कात्तिक १६ । स्थानीय उपभोक्ताहरुले तीब्र विरोध गरेपछि हल्दिवारी गाउँपालिकाको न्यायिक समितिले नमूना इटाभट्टा संचालन नगर्न आदेश दिएको छ ।

चारपाने १ मा दर्ता भएको इटाभट्टालाई जबरजस्ती पेलेर हल्दिबारी १ गोलधापमा पुनः संचालन गर्न लागिएको थियो ।
न्यायिक समितिले मंगलबार नमूना इटाभट्टा उद्योगका संचालक दिनेश चौलागाईको नाममा पत्र पठाउँदै स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ८ को दफा ४७ को उपदफा २(ञ)बमोजिम स्थानीय उपभोक्ताहरुले उजुरी दिएपछि तत्काल भट्टाको कामकाज संचालन नगर्न निर्देशन दिएको हो ।

चारपाने १ मा दर्ता भएको नमूना इटाभट्टालाई जवर्जस्ती हल्दिबारी १ साविक गोलधाप ८ मा संचालन गर्न लागिएको हो । स्थानीयहरुको विरोधका बावजुद उनीहरुको जनस्वास्थ्यलाई प्रत्यक्ष असर पर्नेगरी पेलेर इटाभट्टा संचालन गर्न खोज्दा स्थानीयका तर्फबाट राजकुमार लिम्बु , गोविन्द घिमिरेलगायतले न्यायिक समितिमा उजुरी दिएका थिए । विगत केही महिनादेखि स्थानीयहरु निरन्तर सो इटाभट्टाको विरुद्धमा उत्रिएका छन् । चारपाने १ मा दर्ता भएको नमूना इटाभट्टा, संचालन गर्न लागिएको स्थान हल्दिवारीमा दर्ता भएको देखिदैन ।त्यसैगरी वातावरण प्रभाव मूल्यांकन पनि गरिएको पाइदैन ।तर, संचालकहरुले चारपाने १ मा दर्ता रहेको नमूना इटाभट्टाको शाखाको रुपमा हल्दिबारीमा सो इटाभट्टा खोलेको दावी गरेका छन् । त्यस्तै हल्दिबारीमा संचालन गर्नका लागि नमूना इटाभट्टाको वातावरण प्रभाव मूल्यांकन गरिएको छैन । नेशनल ब्रिक इन्डष्ट्रिजको नाममा गरिएको वातावरण प्रभाव मूल्यांकनको निहुँ पारेर संचालकहरुले हल्दिबारीमा नमूना इटाभट्टा संचालन गर्न लागेका हुन् ।
सशस्त्र द्वन्द्वकालमा स्थानीयको बिना स्वीकृति माओवादीको धम्कीको आँडमा करिव १४ वर्षअघि सो इटाभट्टा स्थापना गरिएको थियो । भट्टाका कारण आसपासमा बसोबास गर्ने मानिसहरुलाई अत्यन्तै प्रतिकुल असर परेको र स्थानीय, भट्टा संचालक र कर्मचारीहरुबीचमा आपसी असमझदारी भई दैनिक रुपमा झैझगडा हुन थालेपछि संचालन भएको ३ वर्षपछि सो भट्टा बन्द भएको थियो । सोही भट्टाका कारण एकजनाको मृत्यु भएको स्थानीयले बताएका छन् । बन्द रहेको सोही भट्टालाई हाल आएर पुनः संचालन गर्न लागिएको हो । भट्टाको साँध सिमाना भएका सधियार र भट्टाले प्रतिकुल असर पार्ने क्षेत्रका सम्पूर्ण व्यक्तिहरुसँग कुनै स्वीकृति नलिई घरेलु तथा साना उद्योग कार्यालयमा दर्तासमेत नगरी पुनः सो भट्टा संचालन गर्न लागिएको स्थानीय रुकुम गुरुङले बताए । उनले मानव बस्तीसँगै विद्यालय , अस्पताललाई प्रतिकुल असर पार्ने भएपछि आफूहरुले विभिन्न निकायमा निवेदन दिएको जानकारी दिए । सधियारसहित १२२ जनाले हल्दिबारी गाउँपालिकाको न्यायिक समितिमा भट्टा संचालन हुन नदिन निवेदन दिएका थिए । त्यसअघि उनीहरुले वडा कार्यालयको पनि ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्