बिर्तामोड , कात्तिक १७ । बिर्तामोड २ स्थित वीर अमरसिंह बाल क्लबले दिपावलीको अवसरमा सामूहिक देउसीभैलो कार्यक्रम आयोजना गरेको छ ।

वीर अमरसिंह माध्यमिक विद्यालयमा रहेको बाल क्लबले मंगलबार तिहार पर्वको विशेष सांस्कृतिक परम्पराको महत्व दर्शाउन उक्त प्रतियोगितात्मक कार्यक्रम आयोजना गरेको हो । नेपालीहरूले मनाउँदै आइरहेका चाडपर्वमध्यें तिहार पनि महत्वपूर्ण रहेको भन्दै यो पर्वको सांस्कृतिक महत्व उजागर गर्न र संरक्षणका लागि उक्त प्रतियोगितात्मक कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले बताए ।
विभिन्न सांस्कृतिक पहिरनसहित छात्राछात्रहरूले आ– आफ्नो मौलिक देउसीभैलो खेलेर रमाइलो गरेका थिए । क्लबका अध्यक्ष सक्षम पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा ब्यबस्थापन समिति पदाधिकारी ,सल्लाहकार समिति ,अभिभावक ,शिक्षकलगायतको उपस्थिति रहेको थियो।
सोही अवसरमा बिद्यालयका पूर्व विद्यार्थी स्व. नवराज फुयाँलको नाममा उनका बुवाआमाले १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
बुबा नेत्रप्रसाद र आमा बिष्णुमाया फुयाँलले छोराको नाममा कोष स्थापना गरिदिएका हुन् ।