भद्रपुर, कात्तिक १७ । नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ को क्षेत्रीय सभापतिमा युवा नेता गणेश पोखरेलले उम्मेद्वारी घोषणा गरेका छन् ।

विद्यार्थी राजनीतिबाट नेतृत्व सम्हाल्दै पार्टी राजनीतिमा आएका पोखरेल वर्तमान क्षेत्रीय सभापति समेत हुन् ।
मेची बहुमुखी क्याम्पस भद्रपुरको इकाइ सभापतिको जिम्मेवारी लिएर राजनीतिमा प्रवेश गरेका पोखरेलले दुई कार्यकाल स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत भएर नेपाल विद्यार्थी संघलाई मेची क्याम्पस स्ववियुमा स्थापित गर्न सफल भएका थिए । २०६२÷०६३ सालमा नेविसंघको केन्द्रीय सदस्य भएका उनी काँग्रेस राजनीतिमा झापा क्षेत्र नम्वर ३ को सचिव हुँदै सभापतिको जिम्मेवारीमा आइपुगेका हुन् ।
भद्रपुर जेसीजलगायत विभिन्न सामाजिक संघसंस्थाको कुशलतापूर्वक नेतृत्व सम्हालेका पोखरेल युवा जागरण अभियानमा लोकप्रिय मानिन्छन् । दक्षिणी झापाको समृद्धिका लागि अभियानमा सकृय उनी गएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट भद्रपुर नगर प्रमुखको उम्मेदवार समेत रहेका थिए ।