कुमरखोद , कात्तिक २१ । नेपालीहरुको महान पर्व विजयादशमी ,शुभदिपावली र छैठ पर्वको अवसरमा झापा गाउँपालिकामा खुल्ला नकआउट फुटवल प्रतियोगिता आइतवारदेखि शुरु भएको छ ।

जोरमाई युवा क्लव सडकवाडीको आयोजनामा संचालन भइरहेको प्रतियोगिताको पहिलो दिनको दुई खेलमा अल ईन वान सैनिक र द हन्टर गौंरीगञ्ज विजयी भएका छन् । डाँगीवारी एफसी र अल ईन वान सैनिकबीच भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा दुवै तर्पmबाट हाफ टाइमपछिको समयमा १–१ गोलको बराबरी भएपछि खेल टाईव्रेकरमा पुगेको थियो । टाईव्रेकर डाँगीवारी एफसीलाई ३–२ गोलको अन्तरले हराउँदै अल ईन वान सैनिक विजयी भएको हो । अल ईन वान सैनिकका खेलाडी विप्लव गुरुङ खेलको म्यान अफ द म्याच घोषित भए ।
त्यसैगरी द हन्टर गौंरीगञ्ज र शिवसतासी युवा क्लब शिवसतासीवीच भएको दोस्रो खेलमा द हन्टर विजयी भएको छ । दुवै टीमले खेल अवधिभर १–१ गोल गरेपछि टाईव्रेकरमा शिवसतासी युवा क्लवलाई ३–१ गोल अन्तरले हराउँदै द हन्टर विजयी भएको हो । शिवसतासी युवा क्लवका खेलाडी मनिष लिम्वु सो खेलको म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगितामा आयोजकसहित जिल्लाका ८ वटा टिमले भाग लिएका छन् । प्रतियोगितामा आयोजक , डाँगीवारी एफसी , अल ईन वान सैनिकमोड , सुरुङ्गा युवा क्लव कन्काई , द हन्टर गौंरीगञ्ज , जलथल एफसी , शिवसतासी युवा क्लव शिवसतासी र सयपत्री युवा क्लव अर्जुनधाराको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता टिमलाई ५१ हजार नगद , ट्रफी , मेडल तथा उपविजेता टिमलाई ३१ हजार नगद , ट्रफी ,मेडल प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटन वडाध्यक्ष नेत्रबहादुर खड्काले गरेका थिए ।