द्रोण अधिकारी
भद्रपुर । प्रदेश नम्बर १ को सर्वाधिक जनसहभागिता रहने छठ पूजास्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदीमा भव्य छठ पूजा गरिने भएको छ ।

तराईबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी ,मारवाडी, बंगालीलगायत सम्पूर्ण जातजातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजा गरिदै आइएको छ ।नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने भद्रपुरस्थित मेची नदीमा मनाउदै आएको छठ पर्वमा भण्डै ५ हजार पूजास्थल निर्माण गरी ३ किलोमिटर क्षेत्रमा नदीको वारिपारी दुवैपट्टिबाट हिमाल, पहाड र तराईका बासिन्दाले सहभागी भएर साझा पर्व मनाउने गरेका छन् । दशकौंदेखिको पूजास्थलको पहिचान बनाएको मेची घाटमा गत वर्ष कोरोना महामारीका कारण पूजाका सम्पूर्ण गतिविधि रोकिएको थियो ।
पूजास्थलका लागि नेपाल भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्नेछन्् भने विगत वर्षहरूमा जस्तै नेत्र ज्योति समाजलगायत सामाजिक संघसंस्थाले मेलामा सहभागी भक्तजनका लागि पानी तथा चियाको व्यवस्था गर्नेछन् ।
पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको समेत पाइएको छ । चार दिनसम्म मनाइने छठ पर्वमा तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र चौथो दिन विहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि सम्पन्न हुने छ । यो पर्वमा जनसहभागिता नेपालको जनकपुरपछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिली समाजका पूर्व अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए । उनका अनुसार भद्रपुरको पूजा अवलोकन गर्न एक लाख हाराहारी सहभागी हुने गरेको इतिहास छ ।
सहज अवलोकन र व्यवस्थित मण्डपका लागि पूजाको व्यवस्थापनलाई एक साता अघिदेखि नै आयोजकले तिव्रता दिइरहेको छ । नेपालका मात्र नभएर भारतको विहार तथा बंगाल राज्यका व्रतालु भक्तजनहरु यसै नदीमा छठ पर्व मनाउँदै आएकाले भद्रपुरको छठ पर्वको छुट्टै विशेषता रहने गरेको छ । यसको व्यवस्थापनका लागि मैथिली समाज भद्रपुर आयोजकको रुपमा रहेको छ भने भद्रपुर नगरपालिका संरक्षक तथा विभिन्न सामाजिक संघसंस्था तथा राजनीतिक दलहरु सहयोगी निकायका रूपमा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्