कुमरखोद , कात्तिक २३ गते । झापा गाउँपालिका वडा नं २ स्थित जोरमाई युवा क्लव सडकवाडीको आयोजनामा संचालन भईरहेको फुटवल प्रतियोगिताको सेमिफाईनल खेलमा विजयी हुँदै अल इन वान सैनिक र जलथल एफसी फाइनलमा प्रवेश गरेका छन् ।
अल इन वान सैनिक र सुरुङ्गा युवा क्लव कन्काईबीच भएको प्रतिस्पर्धात्मक खेलमा कन्काईलाई ३–१ गोलको फराकिलो अन्तरले हराउँदै अल इन वान विजयी भएको हो । सो खेलमा सुरुङ्गा युवा क्लवका आशिष लावती म्यान अफ द म्याच घोषित भए ।
त्यसैगरी जलथल एफसी र द हन्टर गौंरीगञ्जबीच भएको अर्को सेमिफाईनल खेलमा जलथल एफसी विजयी भएको छ । द हन्टर गौंरीगञ्जलाई ३–२ गोलको अन्तरले हराउँदै जलथल एफसी विजयी भई फाईनलमा प्रवेश गरेको हो । जलथल एफसीका रोहन भुजेल खेलको म्यान अफ द म्याच घोषित भए ।
बुधवार अल ईन वान सैनिक र जलथल एफसीबीच फाईनल खेल हुने भएको छ । दुवै टीममा राष्ट्रिय स्तरका खेलाडी समेत रहेका छन् ।
विजेता टिमले ५१ हजार नगद , ट्रफी , मेडल तथा, उपविजेता टिमले ३१ हजार नगद, ट्रफी र मेडल पाउने भएका छन् ।