झापा , कात्तिक २४ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई ब्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो ब्रत बस्न सक्दैन उसले अर्को ब्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
ब्रतविधि
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई ब्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार ब्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको छ ।
षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्मअर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा विगतका वर्षमा काटिएकामा यस वर्षदेखि फेरि बिदा दिइएको छ ।

छठ पर्वका लागि झापाको मेची , बिरिङ, निन्दा , कन्काई , रतुवा , अधुवालगायत नदी किनारमा सजावट गरिएको छ ।
बिरिङमा तयारी पुरा
यता श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्वको तयारी बिर्तामोडमा पनि पुरा भएको छ ।

छठ समाज सेवा समिति बिर्तामोडले बिरिङ खोलामा हुने छठ पूजाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
हिजो पत्रकार सम्मेलन मार्फत तयारी सम्पूर्ण पुरा भएको समितिले जनाएको हो । गत वर्ष कोभिडका कारण नदी किनारमा छठ मनाउन सरकारले प्रतिबन्ध गरेसँगै छठ ब्रतालुहरुले आ–आफ्नो घरमै सीमित रहेर छठ मनाएका थिए ।
कमी आएसंगै यस पटक भने स्थानीय प्रशासनले छठ मनाउन अनुमति प्रदान गरेसंगै सरकारले तोकेको मापदण्डभित्र रहेर पर्व मनाउने गरी तयारी पुरा गरिसकेको समितिका अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए ।
पूजाका लागि पण्डाल निर्माण, मञ्च व्यवस्थापन लगायत सम्पूर्ण तयारी सकिएको उनले बताए । उनले ब्रतालुहरुका लागि करिब ५ सय घाट नदि किनारमा निर्माण गरिएको जानकारी दिए । करिब १० हजार मानिसले पुजा अवलोकन गर्ने अपेक्षा समितिले अनुमान गरेको छ । पूजा सम्पन्न गर्न विभिन्न १३ वटा उपसमिति निर्माण गरिएको आयोजकले जनाएको छ । कोरोना संक्रमण कायमै रहेको बताउंदै समितिका निवर्तमान अध्यक्ष घनश्याम चौधरीले स्वास्थ्य मापदण्ड पालना कार्यक्रम गरिने जानकारी दिए । उनका अनुसार पूजास्थलमा सामाजिक दुरी कायम, मास्क र सेनिटाइजर वितरण समेत गरिने छ । पूजा सम्पन्न गर्न समितिले वरुण चौधरीको संयोजकत्वमा अर्थ, शंकर भगतको संयोजकत्वमा घाट व्यवस्थापन, अशोक चौधरीको संयोजकत्वमा मंच तथा कुपन व्यवस्थापन, अरुण चौधरीको संयोजकत्वमा स्वयमसेवक, दिलिप दासको संयोजकत्वमा लाइट व्यवस्थापन, हेमलता चौधरीको संयोजकत्वमा अतिथी सत्कार, देवेन्द्रकुमार सिंहको संयोजकत्वमा शान्ति सुरक्षा, राजकुमार साहको
संयोजकत्वमा साँस्कृतिक कार्यक्रम, प्रेमचन्द्र चौधरीको संयोजकत्वमा सामाजिक समन्वय, उपेन्द्र प्रधानको संयोजकत्वमा स्वास्थ्य र रामेश्वर द्विवेदीको संयोजकत्वमा छठ पूजा एवम् वृहत साँस्कृतिक कार्यक्रम, सत्यनारायण चौधरीको संयोजकत्वमा प्रसाद वितरण उपसमिति निर्माण गरेको प्रचारप्रसार उपसमिति संयोजक शत्रुधनप्रसाद गुप्ता रौनियारले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्