बिर्तामोड, कात्तिक २५ । बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले सामाजिक सञ्जालमार्फत लेखेको स्टाटसले बिर्तामोडका माछापालकलाई तनाव भएको छ ।

उनले बिशेष सूचना भन्दै झापा जिल्लाका विभिन्न हस्पिटलको मानव सिनो संकलन गरेर माछा पोखरीमा रातिराति १ बजेदेखि ३ बजेसम्म हाल्ने काम भएको भन्ने सुन्नमा आएकोले त्यस्ता माछा अर्गानिक माछा भन्दै बेच्नेहरुमाथि कडा निगरानी गर्न खोज पत्रकारिता गर्ने मित्रहरु , सचेत नागरिक र प्रशासनसमक्ष हार्दिक अनुरोध गर्दछु भनी सामाजिक संजालमा स्टाटस लेखेका थिए । मानव सिनो खुवाएर पालेको माछा बिक्री गरेको संग्रौलाको भनाइले माछापालकहरुमा खैलाबैला मच्चिएको हो । त्यस स्टाटसप्रति कतिपयले अब माछा खान नहुने प्रतिक्रिया दिएका छन् भने कतिपयले यस्तो तथ्यहीन र हावादारी कुरा नगर्न वडाध्यक्ष संग्रौलालाई चेतावनी दिएका छन् । यसैबीच भ्रामक सूचना सम्प्रेषण गरेको भन्दै झापाका माछापालक किसानले त्यसप्रति आपत्ति जनाएका छन् ।

वडाध्यक्ष संग्रौलाले भ्रामक, तथ्यहीन र बिनाआधार सामाजिक सञ्जाल फेसबुकमा माछापालनसम्बन्धी स्टाटस लेखेको भन्दै माछापालक किसानले आक्रोश व्यक्त गरेका हुन् । बिहीबार बिहान बिर्तामोड ३ सैनिकमोडमा बैठक बसी माछापालक किसानहरुले फेसबुकमार्फत भ्रामक सूचना सम्प्रेषण गर्ने वडाध्यक्ष संग्रौलालाई आफ्नो भनाइ सच्याउन माग गरेका छन् । उनीहरुले कपोकल्पित र आम उपभोक्तामा भ्रम फैलाउने उद्देश्यले फेसबुकमा स्टाटस लेख्नु जनप्रतिनिधिबाट गैरजिम्मेवार कार्य भएको टिप्पणी गरेका छन् ।

वडाध्यक्ष संग्रौलाको स्टाटसप्रति मेची मत्स्य व्यवसायिक कृषक समूहले बिहीबार विज्ञप्ति जारी गरी खेद व्यक्त गरेको छ । समूहले वडाध्यक्ष संग्रौलालाई स्टाटसमा दावी गरिएजस्तो माछापालन गर्ने पोखरीहरुमा अस्पतालबाट उत्पादित फोहोरमैला हाल्ने गरेको पुष्टि गर्न चुनौती समेत दिएको छ । वडाध्यक्ष संग्रौलाले त्यसो गरेको प्रमाण पु¥याएको खण्डमा सम्बन्धित माछापालक किसानलाई कडा कारबाही गर्ने समूहले विज्ञप्तिमार्फत विश्वास दिलाएको छ ।
‘हस्पिटलमा उत्पादित फोहोरमैला, मासुजन्य वस्तुहरु माछालाई चारोको रुपमा रात्रिकालीन समयमा खुवाउने गरेको भन्ने वडाध्यक्ष संग्रौलाको दाबी प्रमाणित गर्न हामी चुनौती दिन्छौं । प्रमाणित भए सम्बन्धित किसानलाई कडाभन्दा कडा कारबाही गर्न हामी पनि माग गर्नेछौं । अन्यथा जिम्मेवार निकायमा बसेको व्यक्तिले गैरजिम्मेवारीपूर्ण कार्य गरेकोमा वडाध्यक्ष संग्रौलाप्रति गहिरो खेद व्यक्त गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।
बिनाआधार प्रमाण, अनुमानका भरमा आगामी दिनमा माछापालनसम्बन्धी कुनै पनि सन्देश सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट प्रकाशन÷प्रसारण नगरिदिन समेत वडाध्यक्ष संग्रौलालाई सचेत गराएको समूहका अध्यक्ष लक्ष्मीप्रसाद शिवाकोटीले बताए । अध्यक्ष शिवाकोटीले तथ्यहीन र भ्रामक हल्लाको पछि नलागेर आम उपभोक्तालाई स्थानीय किसानले उत्पादन गरेको अर्गानिक ताजा माछा प्रयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्