भद्रपुर, कात्तिक २५ । झापा जिल्लामा दोस्रो चरणको जनगणनाको तथ्यांक संकलन भद्रपुरबाट सुरू भएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले आ—आफ्नो सम्पूर्ण विवरण भराएर भद्रपुरबाट कार्यक्रमको सुरूवात गरेका हुन् ।जिल्ला जनगणना कार्यायल भद्रपुरका प्रमुख चुडामणि लुईटेलले प्रजिअ तिमिल्सिनाको विवरण भरेका थिए भने नगर प्रमुख जीवनकुमार श्रेष्ठको विवरण गणक मुना खतिवडाले तयार गरेकी थिइन् ।बिहान ८ बजे सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख सानुराम भट्टराई, स्थानीय सञ्चारकर्मी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

जिल्लामा राष्ट्रिय जनगणना २०७८ का लागि जिल्लाका १५ पालिकामा एक हजार ४५२ जना सुपरिवेक्षक र गणक परिचालन गरिएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन भएको छ । पहिलो चरणमा सुपरिवेक्षकले संकलन गरेको घरपरिवारका आधारमा गणकले जनसंख्यासहितको सम्पूर्ण विवरण लिने जिल्ला जनगणना कार्यालय झापाका प्रमुख लुईटेलले जानकारी दिएका छन् ।
उनले प्रारम्भिक विवरण अनुसार झापामा २ लाख ४७ हजार ५०० घर परिवार संख्या देखिएको छ । सोही परिवारको तथ्यलाई गणकहरूले स्थलगत रूपमा विवरण लिएर जनगणना गर्नेछन् । झापामा वि.सं. २०६८ सालमा गरिएको जनगणनाको तथ्यांक अुनसार १ लाख ८४ हजार ५५५ घरपरिवार रहेका थिए । वर्तमान अवस्थामा ३४ प्रतिशत घर परिवार बढेको उनको भनाई छ ।
बिहीवारदेखि मंसिर ९ गतेसम्म स्थलगत जनगणना हुने झापामा बिरिङ खोला पूर्व र पश्चिम क्षेत्र हेर्ने गरी दुईवटा जनगणना कार्यालय राखिएको छ । पूर्वको गणना कार्यालय भद्रपुर र पश्चिमको गणना कार्यालय दमकमा रहेका छन् । प्रमुख लुइटेलका अनुसार जनगणनाको १२औं श्रृंखला अन्तरगत ५५ वटा प्रश्नावलीका आधारमा विवरण संकलन गरिनेछ ।
शुभारम्भ कार्यक्रममा प्रजिअ तिमिल्सिनाले झापाबासीलाई जनगणनाका लागि विवरण दिन अपिल गरेका छन् ।
अपिलमा भनिएको छ —“मेरो गणना मेरो सहभागिता भन्ने मूल नाराका साथ नेपालमा अहिले १२ औं राष्ट्रिय जनगणना सञ्चालन भइरहेको छ । जनगणनाको तथ्यांक संकलनको पहिलो चरणअन्तरगत देशैभर घरपरिवार सूचीकरण कार्य सम्पन्न भईसकेको छ । जनगणनाको मूल प्रश्नावलीले निर्दिष्ट गरेका विषयमा केन्द्रीत रहेर, तपाईं हाम्रो घर दैलोमा कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणकहरु घरपरिवारको पारिवारिक र व्यक्तिगत विवरण लिन (घरघरमा) आउँदै हुनुहुन्छ । गणकले सोधेका प्रश्नको सही उत्तर दिऔं । तपाईंले टिपाएका तथ्यांक गोप्य रहने छन् । यस्ता विवरण गोप्य नराख्ने वा गोपनियता भंग गर्ने जो कोहीलाई कानून बमोजिम कारवाही हुनेछ । त्यसैले आफूले टिपाएको विवरणको गोपनियता नरहने हो कि भनेर कसैले द्विविधा लिनु पर्दैन ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्