बिर्तामोड , कात्तिक २५ । बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले चिया पसलको गफ सुनेर फेसबुकमा स्टाटस लेखेको बताएका छन् ।

जनताको स्वास्थ्यमा खेलवाड नहोस् भनेर सचेतनाको निम्ति फेसबुक स्टाटस लेखेको उनले विज्ञप्ति जारी गरी स्पष्ट पारेका छन् । उनले बिशेष सूचना भन्दै झापा जिल्लाका विभिन्न हस्पिटलको मानव सिनो संकलन गरेर माछा पोखरीमा रातिराति १ बजेदेखि ३ बजेसम्म हाल्ने काम भएको भन्ने सुन्नमा आएकोले त्यस्ता माछा अर्गानिक माछा भन्दै बेच्नेहरुमाथि कडा निगरानी गर्न खोज पत्रकारिता गर्ने मित्रहरु , सचेत नागरिक र प्रशासनसमक्ष हार्दिक अनुरोध गर्दछु भनी सामाजिक संजालमा स्टाटस लेखेका थिए । त्यस स्टाटसप्रति माछापालकका तर्फबाट मेची मत्स्य व्यवसायिक कृषक समूहका अध्यक्ष लक्ष्मीप्रसाद शिवाकोटी र सचिव राजेश देवानले आपत्ति जनाएका थिए । त्यसपछि वडाध्यक्ष संग्रौलाले विज्ञप्ति जारी गरी स्पष्ट पारेका हुन् । विज्ञप्तिमा भनिएको छ ‘मैले हिजो चारपानेको कुनै चिया पसलमा ५ जना अपरिचित व्यक्तिहरुले गफ गरेको विषयमा यस्तो संवेदनशील विषय जनताको स्वास्थ्यमा खेलवाड नहोस् भनेर सचेतनाको निम्ति फेसबुक स्टाटस लेखेको सत्य हो । उक्त सचेतनामा कुनै व्यवसायी , पोखरीलाई तोकिएको छैन । इमान्दार व्यवसायीहरुलाई यस विषयले जेनेरलाईज भएबाट व्यवसायमा असर पर्ने बुझेर स्टाटसलाई मैले डिलिट पनि गरे । व्यवसायीप्रति आँच पुग्ने हुनाले यसमा म दुःख प्रकट गर्दै तपाईहरुको पेशाप्रति सम्मान जाहेर गर्दछु । ’
उनले माछापालन किसानको पेशा व्यवसायप्रति सकारात्मक पहल हुने भन्दै लक्षित नभएको विषयमा चित्त दुखाएकोमा आफनो तर्फबाट दुःख प्रकट गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्