दमक, कात्तिक २६ । कमल गाउँपालिका ५ मंगलवारेस्थित सगुन युवा क्लवले बर्सेनि आयोजना गर्दै आएको सगुन साँझ यस वर्ष पनि विहिबार भव्य रुपले सम्पन्न गरेको छ ।


दिपावली , छैठ तथा उद्यौली पर्वको अवसर पारेर बर्सेनि आयोजना गर्दे आएको सांस्कृतिकमूलक सगुन साँझ यस वर्ष भव्य रुपले सम्पन्न गरिएको सचिव रोशन दाहालले बताए । क्लवका अध्यक्ष देवेन्द्रराज आङदेम्बेको अध्यक्षतामा भएको सगुन साँझ सांगीतिक कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बू तथा स्थानीय कलाकारहरुले गीत,नृत्य प्रस्तुत गरेका थिए । स्थानीय मंगलवारे वजारको प्राङगणमा भएको सगुन साँझको क्रममा स्थानीय एक जना विरामी नावालकलाई सहयोग उपलव्ध गराईएको थियो । आर्थिक अवस्था अत्यन्त कमजोर भएका गीता लिम्बूका २ बर्षिय विरामी छोराको उपचारका लागि २८ हजार ७ सय ४० रुपैयाँ समेत जुटाई पीडित परिवारलाई हस्तान्तरण गरिएको सचिव दाहालले जानकारी दिए । उनका अनुसार टाउकोमा पानी जमेर आर्थिक अवस्थाका कारण उपचार गर्न नपाएका बालकको उपचारमा सघाउन कार्यक्रम स्थलबाट सर्वसाधारणले उक्त सहयोग उपलव्ध गराएका थिए ।


सोही कार्यक्रममा क्लवले सामूहिक रुपमा देउसीभैलोसहितको सांस्कृतिकमूलक सांगीतिक कार्यक्रममार्फत करिव ६० हजार रुपैयाँ समेत संकलन भएको थियो । सगुन साँझ देउसीभैलो सांस्कृतिक कार्यक्रममा मनोरञ्जन लिन सयौको संख्यामा त्यस क्षेत्रका बासिन्दाहरुको उपस्थिति रहेको थियो । भलिबल खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा छुट्टै परिचय दिन सफल यस क्लवले सहयोगार्थ दिपावली तथा छैठको अवसरमा देउसीभैलोसहितको सांस्कृतिक कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक दिवाकर राईले जानकारी दिए । साँझ ५ वजेदेखि शुरु भएको सांगीतिक कार्यक्रम राति १० वजेसम्म चलेको थियो । उक्त कार्यक्रमको सञ्चालन राम अधिकारी र सुवास लिम्बूले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्