झापा , कात्तिक २६ । नेपाली काँग्रेसको जिल्ला सभापतिमा राम कट्टेललाई जिताउन लागिपरेका जिताऔं अभियानका सदस्यहरुले १४ औं महाधिवेशनमा देउमान थेबेलाई सभापति बनाउने कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन् ।

१३ औं महाधिवेशनमा नै १४ औं महाधिवेशनका लागि जिल्ला सभापतिमा देउमानको नाममा सहमति भई हस्ताक्षर समेत भइसकेको कुरा गलत भएको उनीहरुले बताएका हुन् । बिर्तामोडमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमार्फत १३ औं महाधिवेशनमा भएको सहमति सार्वजनिक गर्दै कट्टेल पक्षधर कार्यकर्ताहरुले केही संचारमाध्यमबाट पार्टीका वडा सभापति र क्षेत्रीय प्रतिनिधि एवंं सदस्यहरुका बीचमा भ्रम सृजना गर्न खोजेको भन्दै त्यसप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् । जिल्ला सभापतिमा राम कट्टेललाई जिताऔं अभियानका सचिवालय संयोजक पुष्पराज पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,‘प्रथमतः संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक नेपाल, त्यसमा पनि ७० वर्ष पुरानो ऐतिहासिक तथा लोकतान्त्रिक चरित्र बोकेको नेपाली काँग्रेस पार्टीमा राजाको पालामा जस्तो यो पछि अर्को भन्ने पूर्व निर्णय हुनु सुहाउने कुरा होइन , त्यस प्रकारको निर्णय गर्न सकिन्न र भएको पनि छैन ।’
संयोजक पौडेलले पार्टीको आन्तरिक चुनावी प्रक्रियामा सबैले सौहार्दता कायम गर्न र स्वस्थ प्रतिष्पर्धामार्फत नभएको सहमतिको विषयको प्रचारबाट भ्रम सिर्जना नगर्न आग्रह गरेका छन् । १३ औ महाधिवेशनमा देउमानले सभापतिमा उम्मेद्वारी दिने निर्णय गरेका थिए । त्यसबेला भद्र सहमति गरी अर्का उम्मेद्वार उद्धव थापालाई सर्वसम्मत बनाइएको थियो । १४ औं महाधिवेशनमा देउमानलाई सभापति पद छोड्ने उनी पक्षधरहरुले बताउँदै आएका छन् । तर कट्टेल पक्षधरहरुले १३ औं महाधिवेशनमा भएको ९ बुँदे सहमतिमा देउमानलाई सभापति बनाउने कुरा उल्लेख नभएको सहमति पत्र सार्वजनिक गरेका छन् । त्यस सहमति पत्रको पहिलो बुँदामा सभापति पदका उम्मेद्वार देउमान थेबेले सभापति पदमा सर्वसम्मत गराउन गरेको त्यागलाई उच्च मुल्यांकन गर्दै उनको राजनैतिक भूमिकालाई संबद्र्धन गर्ने उल्लेख छ । कार्यक्रममा संयोजक पुष्पराज पौडेल, प्रेम सम्बाहाम्फे , तारावीर कट्वाल , उषा गुरुङ, भरत सुब्बा , मणि उप्रेती ,निरज घिमिरे , देवेन्द्र गौतम , तेजप्रसाद चौलागाईलगायतले आफ्ना भनाइ राखेका थिए । कार्यक्रमको संचालन लोकराज ढकालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्