सुरेस आले “सर्जु“
बिर्तामोड , कात्तिक ३० । बिर्तामोड नगरपालिका वडा नं १० मा रहेको मनकामना कृषक समूहले तिहारमा देउसीभैलो खेलेर उठेको रकमले हाते कृषि ट्याक्टर(पावर ट्रिलर) खरिद गर्ने भएको छ ।

दुई वर्षअघि गठित समूहमा १३ जनाको कार्यसमिति रहेको छ । २७ घरधुरी रहेको सदस्य समूहले सदस्यको घरलगायत अन्य घरमा देउसी खेलेवापत् ३१ हजार र चामल संकलन गरेको थियो । महिला र पुरुष सदस्य देउसीमा सहभागी थिए । समूहका प्रत्येक सदस्यले देउसीभैलेलाई ५ सयदेखि २ हजार २५५ रुपैयाँसम्म सहयोग गरेको बताईएको छ । ट्याक्टरको मूल्य ६५ हजारसम्म पर्ने भएकोले नगर र वडासाथै कृषि ज्ञान केन्द्रमा अनुदानको लागि पहल गरि ट्याक्टर खरिद गरेर सदस्यको हितमा प्रयोग गरिने समूहकी अध्यक्ष नैनकला थापाले बताईन् । अनुदान नपाए रकम जुटाएरै भए पनि ट्याक्टर खरिद गरिने थापाको भनाई थियो ।