बिर्तामोड , कात्तिक ३० । आफ्नै एक नम्बर प्रदेशसहित देशका सातैवटा प्रदेशमा आफ्नो पक्षका कोही पनि नजितेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष उठ्ने राजेन्द लिङ्देनको योजनामा ठूलो धक्का लागेको छ ।

कात्तिक २८ र २९ गते भएको राप्रपाको प्रदेश अधिवेशनमा देशका ७ वटा प्रदेशमध्ये ६ वटामा कमल थापा पक्षकाले जितेका छन् । गण्डकी प्रदेशको अध्यक्षमा जित्ने हेमराज गुरुङ कुन पक्षका हुन् भनेर खुलिसकेको छैन । यहाँसम्म कि लिङ्देनले एक नम्बर प्रदेश अध्यक्षमा उठाएको भक्तिप्रसाद सिटौलाले समेत हारेका छन् । आफ्नै गृह प्रदेशमा आफू पक्षधरले हार्दा लिङ्देनले केन्द्रीय अध्यक्षमा जित्ने आधार नदेखिएको बिश्लेषकहरु बताउँछन् । राप्रपाको एक नंम्बर प्रदेश समितिको अध्यक्षमा कमल थापा पक्षका राम थापा बिजयी भएका हुन् ।

प्रदेश समितिको लागि दमकमा भएको निर्वाचनमा लिङ्देन पक्षधर भक्ति सिटौलालाई ५२ मतले पराजित गरी थापा निर्वाचित भएका हुन् । थापाले २७५ मत पाउँदा सिटौलाले २३७ मत ल्याएका छन् । त्यस्तै दुई नम्बर प्रदेशमा भरत गिरी , बागमती प्रदेशमा बिक्रम थापा , लुम्बिनी प्रदेशमा प्रदीपकुमार उदय , कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदूर पश्चिममा धर्मराज जोशी निर्वाचित भएका छन् ।
यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा राप्रपाको महाधिवेशन हुँदैछ । त्यस महाधिवेशनमा केन्द्रीय अध्यक्षमा उठ्ने लिङ्देनले इच्छा व्यक्त गरेका छन् । कमल थापालाई टक्कर दिनेगरी अध्यक्षमा उठ्ने उनको योजनामा तुषारापात भएको हो । पार्टीमा गुट सिर्जना गर्न खोज्दै आफूलाई सर्वेसर्वा ठान्दा यस्तो परिणाम भोग्नु परेको निर्वाचित अध्यक्ष राम थापाले प्रतिक्रिया दिएका छन् ।प्रदेशमा मात्र नभएर आफ्नै जिल्लामा पनि लिङ्देनको राम्रो पार्टी जनमत नभएको उनले बताए । ‘झापा क्षेत्र नं ३ को संघीय निर्वाचनमा सिंगो पार्टी पंक्तिले उहाँलाई सांसदमा जिताएको हो’ उनले भने , ‘अहिले आफैले मात्र गरेको भनेर प्रतिफल लिन खोज्नु राम्रो होइन ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्