दमक ,मंसीर २ । नेपाली कांग्रेसको जारी चौधौं महाधिवेशनमा चुनावी प्रक्रिया भड्किलो भएको भन्दै दमकका वडा सभापतिहरुले चिन्ता व्यक्त गरेका छन् ।

दमकका दशवटै वडाका सभापतिहरु भेला भई चुनावी कार्यक्रमहरु भड्किलो भएको भन्दै यसले पार्टीलाई हित नगर्ने निष्कर्ष निकालेका हुन् ।
अहिलेको जारी निर्वाचन प्रक्रिया भड्किलो र अन्य दलसंगको प्रतिस्पर्धा जस्तो देखिएको भन्दै आन्तरिक प्रतिस्पर्धालाई मर्यादित र आत्मीयपूर्ण बनाउनु पर्नेमा त्यस्तो नभएको वडा नम्बर १ का वडा सभापति गजेन्द्र देवानले बताए । वडा सभापतिहरुको भेलाले लोकतान्त्रिक पार्टीको नेतृत्व चयन प्रक्रिया पूर्ण लोकतान्त्रिक भएपनि यसलाई भड्किलो नबनाउन आग्रह गरिएको उनले बताए । मतदानको क्रममा बिभिन्न पदमा उठेका उम्मेद्वारहरुको पार्टीको योगदान र जिम्मेवारीलाई ध्यान दिन पनि वडा सभापतिहरुको भेलाले आग्रह गरेको वडा नम्बर ७ का वडा सभापति चन्द्र खत्रीले बताए ।
अहिलेको महाधिवेशनमा देखिएको क्रियाशीलता भोलि हुने विभिन्न चरणका निर्वाचनमा पनि देखाउन सबैलाई आग्रह गर्दै आन्तरिक प्रतिस्पर्धालाई मर्यादित बनाउन आह्वान गरिएको वडा नम्बर ५ का वडा सभापति चैतन्य बरालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्