झापा , मंसीर ५ । नेपाली काँग्रेसको चौधौ महाधिवेशनअन्तर्गत एक नं. प्रदेशको नेतृत्व हत्याउने दाउमा रहेको सिटौला पक्षले झापाको प्रदेश क्षेत्रको अधिवेशनमा वर्चस्व कायम गरेको छ ।

जिल्लाको १० वटा प्रदेश क्षेत्रको शुक्रवार सम्पन्न अधिवेशनमा ७ वटामा आफ्नो पक्षले जित हासिल गरेको सिटौला पक्षले दावी गरेको छ । झापाको क्षेत्र नं १ को ‘ख’ , क्षेत्र नं ५ को ‘क’ र ‘ख’ मा आफ्नो इतरको समूहले जितेको र त्यसबाहेक सबैमा आफ्नो वर्चस्व रहेको सिटौला पक्षको दावी हो । प्रदेश क्षेत्रको अधिवेशनमा क्षेत्र नं १ ‘क’ मा हरिबहादुर बुढाथोकी,क्षेत्र नं १ ‘ख’ मा सन्तोष न्यौपाने,क्षेत्र नं २ ‘क’ मा लक्ष्मीप्रसाद आचार्य, क्षेत्र नं २ ‘ख’ मा किरण श्रेष्ठ, क्षेत्र नं ३ ‘क’ मा चिन्तामणि खरेल, क्षेत्र नं ३ ‘ख’ मा तुलसीप्रसाद ओली, क्षेत्र नं ४ ‘क’मा विनोद ढकाल, क्षेत्र नं ४ ‘ख’मा ख्यामराज सिटौला,क्षेत्र नं ५ ‘क’ मा जीवनकुमार राई र क्षेत्र नं ५ ‘ख’ मा रवि केसी सभापति निर्वाचित भएका छन् । जिल्लाका १० वटा प्रदेश क्षेत्रबाट पदाधिकारी र प्रतिनिधि गरी करिव २४० जना चयन भएका छन् । त्यसमध्ये ७० प्रतिशत आफूनिकट रहेको सिटौला पक्षको दावी रहेको छ । प्रदेश क्षेत्रमा निर्वाचितहरुले प्रदेश अधिवेशनमा भाग लिनेछन् ।

देशका ७ वटा प्रदेशमध्ये प्रदेश एक र बागमती प्रदेशमा सिटौला पक्षलाई छोड्ने सहमति भएको बताइएको छ । त्यसो त प्रदेश एकमा अधिवेशन सम्पन्न गराउन नेता कृष्णप्रसाद सिटौलालाई पार्टीले जिम्मेवारी दिएको छ । सिटौला पक्षले पाउने भएपछि प्रदेश एकको सभापति पदका लागि केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी र जिल्ला सभापति उद्धव थापाको चर्चा छ । थापाले केन्द्रीय सदस्यमा उममेद्वारी घोषणा गरेपनि केन्द्रीय सदस्य नउठेर प्रदेश सभापतिमा उठ्न सक्ने एक जिल्ला नेताले बताए ।यसबाट सिटौला पक्षले झापा जिल्लामा मात्र नभएर प्रदेश एकमै वर्चस्व कायम गर्ने देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्