भद्रपुर, मंसीर ७ । सामाजिक सेवामा क्रियाशील भद्रपुर जेसीजले भद्रपुर क्षेत्रका विभिन्न संस्थागत विद्यालयका जेहेन्दार तथा विपन्न ११ जना छात्र–छात्रालाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

भद्रपुर जेसीजले मंगलबार जेसीज सप्ताह उद्घाटन तथा जेसी स्व. खगेन्द्र सुवेदीको स्मृति दिवसको अवसर पारेर छात्रबृत्ति प्रदान गरेको हो ।
भद्रपुर जेसीजका अध्यक्ष निकाश पाण्डेको अध्यक्षतामा भद्रपुर ८ स्थित जेसीजकै सचिवालयको सभाहलमा आयोजित कार्यक्रमका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलगायतले शैक्षिक सामग्री वितरण गरेका थिए । शैक्षिक सामग्री पाउनेमा प्रज्ञा एकाडेमीका सुस्मिता मुर्मु, रविना मुर्मु र लक्ष्मी मुर्मु रहेका छन् भने विभूति विद्या मन्दिरका लक्ष्मी भुजेल, निशा भूजेल र महेश दुलाल रहेका छन् । दुई–दुईजना छनोट गरिएका सिग्मा, मेरीगोल्ड र विदूर इङलिश स्कूलका विद्यार्थी अनुपस्थित रहे पनि उनीहरुलाई ती शैक्षिक सामग्री उपलब्ध गराइने अध्यक्ष पाण्डेले बताए ।
सैलेश श्रेष्ठ संयोजक रहेको कार्यक्रम महासचिव मनोज भट्टराईले सञ्चालन गरेका थिए ।
जेसीजले छात्रबृत्तिस्वरुप स्कूल व्याग र एक वर्षलाई पुग्ने कपी, कलमलगायतका शैक्षिक सामग्री उपलब्ध गराएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले भद्रपुर जेसीजले सामाजिक सेवामा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए भने उपप्रमुख श्रेष्ठ, पूर्व अध्यक्ष हरि घिमिरे, डिल्लीराम पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जेसीजले यो साताभरि विभिन्न रचनात्मक क्रियाकलापका साथ जेसीज सप्ताह मनाउने जेसीज सप्ताह मूल समितिका संयोजक रमेश कार्कीले जानकारी दिए ।
उनका अनुसार सप्ताहअन्तर्गत रक्तदान, नेतृत्व विकास तालिम, जेसीज अभियान, खेलकुद, जेसीज भिलेज निर्माणजस्ता कार्यक्रम सम्पन्न हुनेछ ।
भद्रपुर जेसीजले सप्ताह शुभारम्भकै अवसर पारेर सचिवालयको दोस्रो तलाको ढलाइ पनि गरेको महासचिव भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्