झापा, मंसीर ७ । नेपाली कांग्रसको १४ औं महाधिवेशनअन्तर्गत झापा जिल्ला सभापति पदका उम्मेदवार बनेका रामबहादुर कट्टेलले उपसभापति र सचिव पदका उम्मेद्वारको समेत नाम सार्वजनिक गरेका छन् ।

मंगलवार बिर्तामोडमा राम कट्टेल जिताउ अभियानको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रमका बीच सभापति पदका उम्मेद्वार कट्टेलले उपसभापति पदमा केदार शम्सेर गिरी र सचिव पदमा विश्वदीप लिङ्देनको नाम सार्वजनिक गरेका हुन् । उपसभापति पदका उम्मेद्वार बनेका गिरी जनआन्दोलनका सहिद राजन गिरीका पिता हुन् । उनी अर्जुनधारा नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
सचिव पदका उम्मेद्वार लिङ्देन दमक निवासी हुन् । उनले यसअघि संविधानसभाको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए ।
आफ्ना टिमको उम्मेद्वारहरुको नाम सार्वजनिक गर्दै सभापति पदका उम्मेद्वार कट्टेलले आसन्न निर्वाचनमा राम कट्टेल एक्लैले जित हासिल गर्ने नभई परिर्वतनका पक्षमा उभिने सबै कांग्रेसका नेता तथा कार्यकर्ताले जित हासिल गर्ने धारणा राखे । पार्टीलाई गुटभन्दा माथि उठाएर लैजाने प्रतिवद्धता जनाएका उनले आफू पार्टी सभापति पदमा निर्वाचित भएको खण्डमा पार्टीको गरिमालाई समेत उच्च राख्दै लाने बताए ।
कार्यक्रममा बोल्दै पार्टीका प्रवत्ता विश्वप्रकाश शर्माले स्वच्छ छविका शालिन नेता राम कट्टेललाई जिताउन आग्रह गरे । उनले अब युवाले राजनीतिमा परिर्वतन चाहेकाले परिर्वतन जरुरी रहेको धारणा राखे ।
पार्टी सचिव तारावीर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री वीरमणी ढकाल, गोपालकुमार बस्नेत, उषा गुरुङलगायतले बोलेका थिए । त्यस अवसरमा राम कट्टेल जिताउ अभियानको सम्पर्क कार्यालय उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्