बिर्तामोड , मंसीर १० । आज हुने नेपाली काँग्र्रेसको झापा जिल्ला अधिवेशनमा बिर्तामोडका वीरबहादुर दर्नाल ( वीरु) ले समानुपातिक तर्फबाट जिल्ला सदस्य पदमा उम्मेद्वारी दिएका छन् ।

नेपाली काँग्रेस झापाका पूर्व सभापति एवम् नेपाली राजनीतिका चिन्तक स्व. सिके प्रसाईको निवासमा पुगेर उनको तस्वीरमा माल्यार्पण गरी सिकेले देखाएको राजनीतिक यात्रालाई कहिल्यै नभुल्ने प्रतिबद्धता गर्दै उनले उम्मेद्वारी घोषणा गरेका छन् ।
आफ्नो प्रतिष्पर्धीलाई समेत आफूजस्तै सम्मानको व्यवहार गर्ने र आफू राम्रो र बिपक्षी नराम्रो हो भन्दै भोट माग्ने संस्कारबाट टाढा रहेको दर्नालले दोहोर्याएका छन । संस्कारको राजनीति स्थापित गर्नसके मात्र सिके प्रसाईको बाटोमा हिड्न सकिने बताउँदै आफूबाट असहिष्णु व्यवहार कहिल्यै नहुने बताएका छन् । प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार दुई पक्षबीचको प्रतिष्पर्धालाई लोकतन्त्रको सुन्दर पक्ष मान्नु नै आफ्नो लक्ष्य रहेको दर्नालको बुझाई रहेको छ ।
बिर्तामोडमा संचालित गोर्खा टेलरिङका संचालक , गोर्खा पोस्ट अनलाईनका प्रबन्ध निर्देशक ,गोर्खा फाउण्डेशनका संस्थापक , सिके चिन्तन प्रतिष्ठानका सदस्य , वीरता जेसीजका महासचिव तथा कार्यकारी उपाध्यक्ष , रोटरी क्लब बिर्तामोड मिड टाउनका चार्टर मेम्बरलगायत विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील दर्नाल सामाजिक क्षेत्रमा परिचित युवा ब्यक्तित्व हुन् ।

आमसंचार तथा पत्रकारितामा स्नातक अध्ययनरत दर्नाल झापाका लोकप्रिय युवा हुन् । आफू विजय बनेर काम गर्ने अवसर पाए एक वर्षभित्रमा जिल्ला पार्टी कार्यालयको सभाहललाई अत्याधुनिक साउण्डसहित सहभागी बस्ने कुर्सीहरु सिनेमा हलको जस्तो सुबिधासम्पन्न बनाउने योजना रहेको उनले सुनाए ।
एक पुरुष र एक महिला निर्वाचित हुने जिल्ला सदस्य पदमा महिला निर्बिरोध भएको छ भने दर्नालसहित अर्का एक पुरुष चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
युवा नेता विश्वप्रकाश शर्मालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्दै आगामी दशकमा केन्द्रीय राजनीति र नेतृत्वमा शर्मालाई पुर्याउन जिल्ला तहबाटै आधार निर्माण गर्न आफूले जिल्ला सभापतिका उम्मेद्वार राम कट्टेललाई साथ दिएको जिल्ला सदस्य पदका उम्मेद्वार दर्नालले बताए । झापा जिल्लाभरिका क्षेत्रीय प्रतिनिधिले आज जिल्ला नेतृत्वको छनौट गर्नेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्