कचनकवल, मंसीर १० । कचनकवल गाउँपालिकाको बनियानीस्थित लक्ष्मी माध्यमिक विद्यालय तथा क्याम्पसमा स्थानीय निश्चल दाहालले पुस्तक हस्तान्तरण गरेका छन् ।
सोही स्कुलमा आफ्नो प्रारम्भिक शिक्षा हासिल गरेका वडा नं ६ बस्ने दाहाल बिगत ११ बर्षदेखि युएइमा बसोबास गर्दै आएका छन् । बिदेशमा रहँदा समेत परोपकारी कार्यमा अग्रसर दाहाल गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईका महासचिव हुन् । बिदेशमा रहेका गैरआवासीय नेपाली र केही सीमित साथीसर्कलसँग सहयोगको अपिल गरी दाहालले नेपाली रकम तीन लाखभन्दा बढीको योजना अगाडि बढाएका छन् ।
विद्यालयलाई आवश्यक पुस्तक, विद्यार्थीहरुलाई परिचयपत्र साथै क्याम्पसलाई लेक्चरर डाइस हस्तान्तरण गर्ने योजना रहेको दाहालले सुनाए। क्याम्पस र स्कुललाई गरी दुई चरणमा पुस्तक हस्तान्तरण गर्ने कार्यक्रमअनुरुप शुक्रवार लक्ष्मी माविलाई कक्षा ११ र १२ को लागि अत्यावश्यक पुस्तक हस्तान्तरण गरेको र मंसीर १२ गते आइतबार क्याम्पसमा स्नातक तहको पुस्तक हस्तान्तरण गर्ने उनले जानकारी दिए ।
यसैगरी स्कुलका शिक्षकहरु रत्नकुमार बुढाथोकी , सुकदेव पोख्रेल, डिल्लीराम भट्टराई,विद्यालय कर्मचारी लक्ष्मी भण्डारीको सहयोगमा विद्यार्थीहरुको विवरण संकलन गरी परिचयपत्र बनाएर वितरण गरिने पुस्तक हस्तान्तरण कार्यक्रममा दाहालले घोषणा गरेका छन।
बिदेशमा आपतमा परेर घर फर्कन नपाएका कचनकवलका युवाहरुलाई घर फर्काउन ब्यवस्थापन गर्ने, बैदेशिक रोजगारीको क्रममा दलालको चंगुलमा परी रकम डुबाएकाहरुको रकम असुल्न सहयोग गर्ने, गाउँघरमा बाढीलगायतका प्रकोपमा सहयोग गरेका दाहालले कोरोना संक्रमणको दौरान भएको लकडाउनमा पिपिइ, सेनिटाइजर, खानालगायतमा ठूलो सहयोग गरेका थिए ।
आवश्यकतामा रहेकालाई सहयोग गर्नुपर्छ भन्ने मान्यता राखेका दाहालले यो पालिकाका हरेक युवाले पढ्न पाउने वातावरण बनाउन आफू अग्रसर रहेको बताए। उनी भन्छन्, “बाटोघाटो , बिजुली मात्र विकास हैन, शिक्षा विकासको मुल खम्बा हो, हामी सबै अग्रसर हुने हो भने अबको दुई बर्षभित्रमा कचनकवलको साक्षरता प्रतिशत ८० माथि पुर्याउन सकिन्छ र शतप्रतिशत विद्यार्थी अध्ययन गर्न जाने वातावरण बनाउन सकिन्छ। त्यो आवश्यक पनि छ ।”