झापा , मंसीर १३ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिले तोकेको समयभित्र अन्य उम्मेदवारको मनोनयन दर्ता नभएपछि पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । महासचिव पदमा शंकर पोखरेल निर्विरोध निर्वाचित हुने भएका छन् । महासचिव पदमा पनि कसैको उम्मेदवारी दर्ता भएको छैन।
त्यसैगरी तीनजना उपमहासचिव पनि निर्विरोध निर्वाचित हुने भएका छन् । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ र विष्णु रिमाल निर्विरोध हुने भएका हुन् ।
उपमहासचिव पदमा पनि कसैको उम्मेदवारी दर्ता नभएको निर्वाचन समितिले जनाएको छ । यस्तै आठ पदमा निर्वाचन हुने भएको छ । जारी महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मतदान हुने भएको हो।
ती पदमा विधानले व्यवस्था गरेको भन्दाबढी मनोनयन दर्ता भएकोले मतदान हुने भएको हो । महाधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्वको नाम अनुमोदन गरेको भए पनि केही पदाधिकारी र केन्द्रीय सदस्य पदमा थप उम्मेदवारी परेको छ ।
अध्यक्ष पदमा केपी शर्मा ओली र भीमबहादुर रावल बीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै उपाध्यक्षमा हलले अनुमोदन गरेको बाहेक घनश्याम भुसालले उम्मेदवारी दिएपछि सो पदमा पनि मतदान हुने भएको छ ।

सचिव पदमा हलले अनुमोदन गरेको बाहेक भीम आचार्यले उम्मेदवारी दिएका छन्। सात जना चाहिने सचिव पदमा आठ जनाको उम्मेदवारी परेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्