झापा , मंसीर १५ । पार्टी सभापति पदमा दाबी पेश गरिरहेका काँग्रेस नेता डाक्टर शेखर कोइरालाको गृहजिल्ला मोरङमा नेपाली काँग्रेस सभापतिमा डिगबहादुर लिम्बू विजयी भएका छन् ।

सभापतिमा निर्वाचित लिम्बू कोइरालाकै समर्थनमा उम्मेदवार बनेका थिए । उनले संस्थापन पक्षका उम्मेदवार दिलिप गच्छदारलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि मोरङ सभापति पदमा बाजी मारेका हुन् ।
लिम्बुले १९०६ मत प्राप्त गर्दा गच्छदारले १४२२ मत पाएका छन । आइतबार भएको निर्वाचनको पहिलो चरणमा तीनजना मध्ये कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत पाउन नसकेपछि मोरङ काँग्रेस सभापतिका लागि मंगलबार पुनः मतदान भएको थियो ।

कोइराला पक्षका लिम्बू, सस्थापनका गच्छदार र सिटौला पक्षबाट यदु विस्ट बीचको प्रतिस्पर्धामा लिम्बू र गच्छदार मात्रै दोस्रो चरणमा प्रतिस्पर्धामा गएका थिए ।
दोस्रो चरणको मतदानअघि मोरङ काँग्रेसको समीकरणमा रोचक फेरबदल देखिएको थियो ।
संस्थापन पक्षका उम्मेद्वारलाई कृष्णप्रसाद सिटौला पक्षले सघाउने घोषणा गरेपछि मोरङमा आफू बलियो बनेको प्रचार देउवा पक्षले गरेको थियो । डाक्टर कोइरालालाई जिल्लामै कमजोर बनाउने लक्ष्यसहित देउवा सिटौला गठबन्धन बनेपनि उनीहरू सफल हुन सकेनन् ।
केन्द्रमा बनेको शेरबहादुर देउवा–कृष्णप्रसाद सिटौलाबीचको नयाँ समीकरण मोरङमा पनि लागु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्