बिर्तामोड, मंसीर १८ । मेची–महाकाली बुहारी संयुक्त आवाज झापाको आयोजनामा लैङ्गिक हिंसा न्यूनीकरण, सामाजिक कुरीति, कुप्रथा, बालविवाह बिषयक अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले महिला हिंसा न्यूनीकरण, दलित अधिकारका नाममा राज्यको करोडौं बजेट सकिएपनि उपलब्धि शुन्य रहेको दावी गरे ।
हिंसाका घटनामा ८० प्रतिशतले कमी आएको दावी गर्दै उनले प्रत्येक ब्यक्तिको आचरण सुध्रिएमात्रै न्यूनीकरण हुने धारणा राखे । कार्यक्रममा बोल्दै अधिवक्ता कविता शर्माले शक्तिमा रहेकाले शक्तिबिहीनमाथि हिंसा गर्ने गरेको बताउँदै शक्ति सन्तुलन र समान अधिकार प्राप्तिले मात्रै हिंसाको अन्त्य हुने धारणा राखिन् ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक हरि बरालले हिंसा सामाजिक न्यायबिरुद्धको अपराध भएको बताए ।नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पुर्वेली, नारी सन्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटी, रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोल, जानुका सन्जेल, सस्थाका कोषाध्यक्ष परु सुवेदीलगायतले पछिल्लो समय हिंसाको स्वरुप फेरिएको, घरभित्रै महिलाहरु असुरक्षित रहेको, अग्रणी भूमिकामा रहेकाहरुबाटै पनि हिंसा हुने गरेको धारणा राख्दै हिंसाको अन्त्यका लागि आफू, आफ्नै परिवार र समाजबाट अभियान प्रारम्भ गर्नुपर्ने धारणा राखेका थिए ।
मेची महाकाली बुहारी संयुक्त आवाज झापाका अध्यक्ष शिखा खड्का गणेशको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गंगा भट्टराई र संचालन सचिव कविता थापाले गरेका थिए ।
महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको दोस्रो चरणमा कविता शर्माले लैङ्गिक हिंसापीडितका लागि कानुनी ब्यवस्था र हरि बरालले लैङ्गिक हिंसा, घरेलु हिंसा र महिला हिंसाका बिषयमा जानकारी दिए । बरालका अनुसार प्रहरीले हिंसालाई तीन तहमा राखेर अध्ययन अनुसन्धान गर्ने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्