बिर्तामोड ,मंसीर २० । महिला हक, अधिकार संरक्षणका क्षेत्रमा बिर्तामोडमा क्रियाशील महिलाजन्य संघसंस्थाको संयुक्त आयोजनामा लैङ्गिक हिंसाविरुद्धको अन्तरक्रिया तथा कानूनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले हिंसाको अन्त्य नभएसम्म समाज समृद्धिको दिशामा अघि बढ्न नसक्ने धारणा राखेका छन् । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले हिंसाको स्वरुप सम्पत्तिले नभई चेतनाले निर्धारण गर्ने भन्दै हिंसाको अन्त्य नभएसम्म समृद्धिको सपना असंभव रहेको बताइन् । समाजमा शिक्षित तथा आर्थिक रुपमा सबल परिवारमा पनि हिंसाका घटना हुने गरेको बताउँदै नगरपालिकाको न्यायिक समितिकी संयोजक समेत रहेकी उपप्रमुख प्रसाईले पछिल्लो समय महिलाबाट पुरुष पनि पीडित पाइएको जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले प्रविधिको उपलब्धतासंगै हिंसाको स्वरुप पनि फेरिएको बताए । प्रहरीले व्यक्ति थुन्दैमा हिंसा न्यूनीकरण हुन्छ भन्ने मानसिकताबाट माथि उठेर हिंसाबाट बच्न व्यक्ति सचेत हुनुका साथै घरपरिवारभित्र भएका हिंसाको दीर्घकालीन समाधानको उपाय परिवारले पनि खोज्नु पर्नेमा आचार्यको जोड दिए ।
हिंसाबाट बच्नका लागि आफ्नो गन्तव्य, समय, परिस्थिति, ठाउँ, वातावरणबारे समेत हेक्का राख्नुपर्नेमा सचेत गराउँदै बालबालिकाले प्रविधिको प्रयोग कसरी गर्दैछन् ?भन्ने कुरामा अभिभावक चनाखो हुनुपर्ने अचार्यको सुझाव थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष ओमकृष्ण बिमलीले पनि मन्तव्य राखेका थिए ।
नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा यशोदा प्रसाईको सञ्चालन र पार्वता बस्नेतले स्वागत गरेको कार्यक्रममा लैङ्गिक हिंसा, समाजमा देखिएका हिंसाका घटना र समाधानको उपायका बारेमा अधिवक्ता कोपिला बस्नेतले प्रशिक्षण दिएकी थिइन् । लैंङ्गिक हिंसासम्बन्धी १६ दिने अभियानको अवसरमा नेपाल उद्यमशील महिला संघ झापा, छठ महिला मञ्च बिर्तामोड, राजवंशी समाज विकास समिति बिर्तामोड ५, पूर्वेली महिला समूह, उन्नतिशील महिला समूह, कञ्चनजंघा परोपकार समाज र कोहेड टोल विकास संस्थाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा एबीसी नेपालकी कन्चना ढकाल सिटौला , नारी संचार गृहकी अध्यक्ष भीमा शिवाकोटी , महिला चेम्बर झापाकी अध्यक्ष प्रेमा भट्टराई , मेची महाकाली बुहारी संयुक्त आवाजकी अध्यक्ष शिखा खड्का गणेश , छठ महिला समाज बिर्तामोडकी अध्यक्ष हेमलता चौधरी ।राजवंशी समाज विकास समिति बिर्तामोड ५ की अध्यक्ष रुपा राजवंशी , जात्रुवारी न्यूटन्स टोल विकास संस्थाका अध्यक्ष लवकुमार चौधरी ,उन्नतिशील महिला समूहकी अध्यक्ष उमा तिम्सिना , कंचनजंघा परोपकार समाजकी पवित्रा बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्