झापा , मंसीर २३ । दक्षिण अफ्रिकाबाट फैलिएको तीव्र संक्रामक कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले सुरुमा देखिएका अन्य भेरियन्टजस्तै रहेको प्रतिक्रिया दिएको छ ।

विज्ञहरूको सुझावलाई आत्मसाथ गर्दै डब्ल्युएचओका आपतकालीन परिस्थितिका निर्देशक माइकल र्यानले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विदेशी सञ्चारमाध्यमलाई एक अन्तरवार्ता दिने क्रममा हालसम्म प्राप्त तथ्याङ्कहरूलाई केलाउँदा यस्तो देखिएको हो । तीव्र सङ्क्रामक भनिए पनि यसको असर हालसम्म सामान्य नै रहेको उनले बताए । हालसम्म यस भेरियन्टबाट मृत्यु भइसकेको अवस्था छैन । नोभेम्बर ४ मा पहिलोपटक दक्षिण अफ्रिकामा यो भेरियन्ट पत्ता लागेको थियो भने डब्ल्युएचओले आफ्ना सदस्य राष्ट्रहरूलाई एक साताअघि मात्रै जानकारी गराएको थियो । सुरुमा जुन स्तरमा हल्लाहरू आएका थिए, त्योअनुसार नभएको निर्देशक ¥यानले बताएका छन् ।

नयाँ भेरियन्ट खतरनाक भनिएलगत्तै धेरै देशले प्रतिबन्ध लगाएका छन् भने केही देशमा सङ्कटकाल नै लगाइएको थियो । हाल करिब ४० देशमा फैलिसकेको भनी डब्ल्युएचओले बताएको छ । नेपालमा दुई दिनअघि ओमिक्रोनका दुईजना सङ्क्रमित भेटिएका थिए । दक्षिण अफ्रिकाबाटै आएका ६६ वर्षीयमा ओमिक्रोन भेरियन्ट भएको पत्ता लागेको थियो । उनीसँग सम्पर्कमा आएका ७१ वर्षीय अर्का पुरुषमा पनि उक्त भेरियन्ट देखिएको हो । तर, हाल उनीहरू आइसोलेसनमा रहेका छन् । दुवै खोप लगाएका उनीहरू दक्षिण अफ्रिकामा देखिनुपूर्व नै नेपालमा प्रवेश गरेका थिए । कोरोना नेगेटिभ देखिएपश्चात नेपाल प्रवेश गरेका उनीहरूलाई सोमबार ओमिक्रोन पुष्टि भएको थियो । नेपालले दक्षिण अफ्रिकालगायत १० मुलुकलाई प्रतिबन्ध लगाइसकेको छ । त्यस्तै हङ्कङलाई पनि नेपालले प्रतिबन्ध लगाएको हो ।

ओमिक्रोन कति खतरापूर्ण छ भन्ने विषयमा विस्तृत अध्ययन र विश्लेषण आवश्यक रहेको निर्देशक ¥यानले बताएका छन् । संसारभरबाट डाटा सङ्कलन गरेर मात्रै टुङ्गोमा पुग्न सकिने जनाइएको छ । दक्षिण अफ्रिकामा देखिएका सङ्क्रमितहरूमध्ये न्यून सङ्ख्यामा मात्रै आइसियुमा रहेको बताइन्छ । दुईतिहाइमा भने श्वास–प्रश्वासको समस्या नभएको देखिएको छ । तर, सङ्क्रमितको संख्या भने ह्वात्तै बढेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्