भद्रपुर, मंसीर २६। झापाको भद्रपुर ९ स्थित वातावरणमैत्री बायोमास ब्रिकेट उद्योग पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।

लगभग सात महिनाअघि आगलागी भई मेशिनहरुसमेत जलेर ठूलो क्षति हुँदा ब्रिकेट उत्पादन पूर्ण क्षमतामा हुन सकेको थिएन ।
उद्योगमा नयाँ मेशिनहरु जडानसहित पुनर्निर्माण भएपछि आइतवारदेखि विधिवत रुपमा पूर्ण क्षमतामा उत्पादन शुरु गरिएको सञ्चालक आदित्य पराजुलीले जानकारी दिए ।
स्थानीयस्तरमै प्रशस्त पाइने कच्चा पदार्थ प्रयोग गरी तयार हुने ब्रिकेटको माग जिल्लाभित्र मात्र नभई जिल्लाबाहिर पनि बढ्न थालेको सञ्चालक पराजुलीको भनाइ छ ।
उद्योग पुनर्निमाण र नयाँ मेशिनरी खरिदमा साढे ५ करोड रुपैयाँ खर्च भएको सञ्चालक पराजुलीले बताए ।
बाँस, प्लाइउडका खेर जाने पतिंगर, उखुका खोस्टा, काठका टुक्रालगायतलाई प्रशोधन गरी तयार हुने ब्रिकेट मुख्य रुपमा चिया उद्योग, इँटाभट्टालगायतमा इन्धनको रुपमा हुन्छ । यसलाई पत्थर कोइलाको विकल्पको रुपमा लिइएको छ भने कोइलाभन्दा सस्तो पनि हुने सञ्चालक पराजुली बताउँछन् । उद्योगबाट अब दैनिक ६० देखि ६५ हजार केजी ब्रिकेट उत्पादन हुने पराजुलीको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्